वैदेशिक रोजगारीका लागि १४४ देशमा पुग्छन् नेपाली

वैदेशिक रोजगारीका सिलसिलामा नेपाली युवा विश्वका एक सय ४४ मुलुकमा छन्। गत आर्थिक वर्ष ०७९/८० मा ७ लाख ७१ हजार ३२७ नेपालीले संस्थागत र व्यक्तिगत रूपमा १४४ देशमा रोजगारीका लागि जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए । उनीहरूमध्ये ६ लाख ९९ हजार १९३ पुरुष र ७२ हजार १३४ महिला छन् ।

सरकारले भने वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा १११ र व्यक्तिगत रूपमा १७८ देशमा जान सकिने व्यवस्था गरेको छ । नेपाली श्रमिक द्वन्द्वग्रस्त रुस, युक्रेनदेखि आन्तरिक युद्धले ग्रसित सिरिया, सोमालिया, सुडानलगायत देशमा पनि पुगेका छन् । रोजगारीका लागि सरकारले धेरै मुलुक खुला गरे पनि हालसम्म ११ मुलुकसँग मात्रै श्रम सम्झौता गरेको छ ।

सुरक्षाको दृष्टिकोणले अत्यन्तै जोखिम मानिएका देशमा पनि नेपाली श्रमिक श्रम स्वीकृति लिएरै गएको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७९/८० मा विभागबाट श्रम स्वीकृति लिएर ३७ नेपाली युवा युगान्डा पुगेका छन् । त्यस्तै, ६ जनाले रुवान्डाका लागि श्रम स्वीकृति लिएको तथ्यांक छ । घानाका लागि १२, माली २२, सोमालिया २०, सुडान सात, रसिया तीन सय ८६, इथियोपियाका लागि नौ नेपाली युवाले श्रम स्वीकृति लिएका छन् । यीबाहेक अवैधानिक प्रक्रियामार्फत चरम द्वन्द्वमा परेको युक्रेनजस्तो मुलुकमा समेत नेपाली पुगेका छन् । तर, यसको आधिकारिक तथ्यांक भने सरकारसँग छैन ।

सरकारले श्रम स्वीकृतिका लागि रोक लगाए पनि जोखिमपूर्ण मुलुकमा नेपाली युवा पुगेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी स्विकार्छन् । ‘म्यानपावर व्यवसायीले नपठाए पनि अहिले व्यक्तिगत पहुँचका आधारमा नेपाली युवा धेरै मुलुक पुगेका छन् । तर, जोखिमपूर्ण रूपमा युवाहरू कसरी पुगे भन्ने आश्चर्यलाग्दो कुरा हो,’ उनले भने । व्यवसायको सिलसिलामा वा व्यक्तिगत कामका कारण त्यस्ता मुलुक नेपाली युवा पुगेका हुन सक्ने उनको अनुमान छ ।

बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी नेपाली श्रमिकका लागि कोरिया, जापान, साइप्रस, रोमानिया, इजरायल, क्रोसिया, क्यानडा, अमेरिकालगायतका मुलुक उपयुक्त भएको बताउँछन् । यि मुलुकमा श्रम कानुन पनि राम्रो छ र आप्रवासी कामदारलाई गर्ने भुक्तानी पनि राम्रो छ । निर्माण र कृषि क्षेत्रमा यि देशले आप्रवासी लैजाने गरेका छन् । तर, नेपाल सरकारले यि देशसँग श्रम सम्झौता गरेको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर