तिज सुरक्षाका लागि पशुपतिमा एक हजार महिला प्रहरी तैनाथ
तिजको अवसरमा सुरक्षाका लागि काठमाडौंमा दुई हजार चार सय जना प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार परिचालित प्रहरीमध्ये एक हजार जना महिला र एक हजार चार सय जना पुरुष छन्।
पशुपतिलगायत विभिन्न मन्दिर परिसरमा भिड हुने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
घेरा, बिट, पिकेट, रिजर्भ, स्ट्राइकिङ, विपद् उद्धार टोली, चिकित्सा सहायताका लागि एम्बुलेन्स, सीसीटीभी युनिट, सिभिल ड्रेससहितको टोली पशुपति क्षेत्रमा परिचालित छ। परिसरले सिफ्टअनुसार प्रहरी परिचालन गरेको हो। पशुपति क्षेत्रमा मात्रै एक हजार दुई सय प्रहरी परिचालन गरेको एसपी मैनालीले बताए।
दर्शनार्थीको भीड भएको क्षेत्रमा सवारी निषेध गरिएको छ। पशुपति क्षेत्रमा नेपाली सेनालगायतले स्वास्थ्य शिविर पनि खडा गरेका छन्।
परिसरले पाकेटमारी तथा गरगहना चोरी हुन सक्ने भन्दै सचेत हुन पनि आग्रह गरेको छ।
दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगंगा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरी पारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ। पर्वसँग सम्बन्धित सरकारी निकायका कर्मचारीको सवारी भने कोषको कार्यालय र अमालकोट कचहरीको कार्यालय परिसरमा राख्ने व्यवस्था गरिएको छ।
हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको मंगलबार बिहान तीन बजेदेखि नै भीड लागेको छ।
दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा बसेसम्म खुला गरिने जनाइएको छ।
रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड लागेको हो। बिहान मूल मन्दिर प्राङ्गणमा मात्र वर्तालु लाममा बसेका छन्। अहिले बाहिरी क्षेत्रमा भीड बढ्दै गएको उनले बताए।
पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि चार वटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ। कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन नयाँ लामको व्यवस्था गरेको छ।
पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोलिएको छ। पशुपतिनाथको पूर्वी ढोका २०६५ पछि पहिलोपटक खुला गर्न लागिएको हो। पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो।
यस वर्ष कोटेश्वर–तीनकुने –सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।
यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ। यस क्षेत्रमा जुत्ता चप्पल सुरक्षित राखेर स्वयंसेवा गर्ने जिम्मेवारी जयबागेश्वरी टोल सुधार समितिले पाएको छ।
दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ। यहाँ पशुपति सृजनशील युवा क्लबले जुत्ता चप्पल सुरक्षित राखेर भक्तजनलाई सहयोग गर्ने जिम्मेवारी लिएको छ।
तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भाग राखिने छ। यस स्थानको जुत्ता चप्पल व्यवस्थापनको जिम्मेवारी अमर नवकान्तेश्वर युवा क्लबले लिएको छ।
चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ। यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ। यहाँ भक्तजनको जुत्ता चप्पल सुरक्षित राखिदिने जिम्मेवारी नवरथ स्काउट ग्रुपले लिएको छ। लामपिच्छे नै स्वयंसेवक परिचालन हुनेछन्।
पर्वका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर,डोलेश्वर लगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ। देशभरका शिवालयमा वर्तालु महिलाको भीड लागेको छ।
प्रतिक्रिया