नाबालिकाहरूलाई यौनधन्दामा लगाएको आरोपमा महिला पक्राउ

काठमाडौंमा नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा एक जना महिला पक्राउ परेकी छन्।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए।

पक्राउ पर्नेमा तनहुँ भिमाद नगरपालिका-२ घर भई काठमाडौंको टोखा नगरपालिका-९ , नयाँ बसपार्क बस्ने २५ वर्षीया सपना तामाङ भन्ने पूजा राना छिन्।

उनी नयाँ बसपार्कमा रहेको पश्चिम लुम्बिनी गेष्ट हाउसमा काम गर्छिन्। उनले गेष्ट हाउसहरूमा नाबालिकाहरूलाई विभिन्न प्रलोभनमा पारेर यौन व्यवसायमा लगाउने गरेको आरोप छ।

एसपी पंगेनीका अनुसार पूजालाई गत बिहीबार पक्राउ गरिएको हो। त्यसपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थपेर अनुसन्धान गरिरहेको हो।

यसअघि प्रहरीले काठमाडौंको रातोपुलस्थित स्पा सेन्टरका सञ्चालकलाई पनि पक्राउ गरेको थियो।

उनीहरूले विशेषगरी आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगमा कम पढेलेखेका बालिकाहरूलाई धागो काट्ने, बालबच्चा हेर्ने, होटलमा सरसफाइको काम दिने भन्दै बोलाएको पाइएको छ। आकर्षक तलब दिने भन्दै प्रलोभनमा पारेर नाबालिका तथा किशोरीहरूलाई यौन व्यवसायमा लगाएको आरोप छ।

प्रहरीले पछिल्लो समय तीन जना नाबालिकाहरूको उद्धार गरेको छ। १० महिनादेखि ती नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको पाइएको एसपी पंगेनीले बताए।

उद्धार गरिएका नाबालिकाहरूलाई सुरक्षित आवासमा राखिएको ब्युरोले जनाएको छ। यसरी नाबालिकाहरूलाई यौन व्यवसायमा लगाउने अन्यको पनि ब्यूरोले खोजी गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर