संघबद्ध गणराज्यहरूको सम्बन्ध कस्तो हुनुपर्छ? राज्यले कर किन र कसरी उठाउने?
महाभारतकालीन हस्तिनापुर, जसलाई भारतको रूपमा महाराज्यको स्थान दिइएको थियो र हस्तिनापुरमा संघीय राज्यको राजधानी राखेर कुरूवंशी राजाहरूले शासन गरिरहेका थिए। हजारौं राज्यहरूको सञ्जाल र हजारौं राजाहरूको शासन थियो, जसलाई गणराज्यको रूपमा मान्यता दिइएको थियो। सबै अधीनस्थ गणराज्यहरूको कर्तव्य पालना तोकिएको थियो। कुरूवंशका शत्रुहरू पनि थिए जसका राज्यहरू हस्तिनापुरमा समाहित गरिएका थिए। ती राजाहरू अन्य देशमा बसेर, शरणागत भई आफ्नो राज्य फिर्ता लिने दाउमा सधैं हुन्थे। अधीनस्थ राज्यहरू, गणराज्यहरूमा आपसमा कुनै मनमुटाब नहोस्, गणराज्यहरूको झगडाका कारणले राज्यहरू नासिँदै जान नसकुन् भन्नेमा चक्रवर्ती कुरूवंशी राजाको ध्याउन्न रहन्थ्यो। शान्तिपर्वको अध्याय १०७ मा गणतन्त्र राज्यको वर्णन र ती गणराज्यहरूप्रति संघको नीतिका बारेमा भनिएको छ।
युधिष्ठिरले जब भीष्म पितामहलाई सोधे, ‘तपाईंबाट मैले विभिन्न वर्गको धर्म, अधर्म र कर्तव्यहरूका बारेमा सुनेँ। अब मलाई विभिन्न गणहरूसँग कसरी व्यवहार गर्ने भन्ने बारेमा बताउनुहोस् जसले गर्दा गणराज्यहरूमा मतभेद नहोस्, गणतन्त्रका जनतामा उन्नति र प्रगति हुँदै जाओस् आपसमा फुट पनि नहोस्, संघ र गणराज्यहरूका बीचमा सौहार्द सम्बन्ध रहोस्। संघबद्ध गणराज्यहरूको विनाशको मूल कारण चाहिँ आपसको फुट नै हो। विभिन्न मानिसहरूका आफ्ना समुदायहरू हुन्छन् र तिनीहरूले आपसका केके सल्लाह गर्छन् र गणराज्यहरूमा उपद्रो मच्चाउँछन्, त्यसमा ध्यान केन्द्रित गर्नुपर्छ। उनीहरूसँग सरकारमा गोप्य कुराहरू छिपाएर राख्न मुस्किल हुन्छ। त्यसैले म सुन्न चाहन्छु, कसरी संघ र गणराज्यहरूमा फुट नहोस्।
जब युधिष्ठिरले सोधेथे, अनि भीष्म पितामहले भने ‘भरत श्रेष्ठ नरेश्वर युधिष्ठिर, गणहरूमा, कुलहरूमा र राजाहरूको वैरभावमा आगो झोस्ने तत्त्व तथा दोष यी दुई कुरा हुन्- लोभ र अमर्ष (अर्काको असल कुरा नसहने प्रवृत्ति, वैरभाव, ईर्ष्या, डाह)। पहिले एउटा व्यक्ति या गणराज्यले लोभ वरण गर्छ, त्यसपछि अर्कोले तत्कालै त्यसमा अमर्ष (डाह) गर्छ। अनि एकबाट लोभ र अमर्ष बढ्दै जान्छ र अन्ततः त्यसैले आपसमा कलह, फुट र विवाद उत्पन्न हुन्छ। त्यसपछि समुदाय,राज्यले विवादको उत्कर्षमा धेरै जनधनको नोक्सानी गर्नेछन् र एक अर्काको विनाशको कारण बन्नेछन्। एउटा गणराज्यले अर्को गणराज्यलाई कमजोर पार्न जुनसुकै करतुत गर्न पनि पछि पर्दैनन्,गुप्तचर लगाउँछन्, सेना प्रहरीको प्रयोग गर्नेछन्, उस्तै परे संघको कुनै वास्ता नगरी राज्यहरू आपसमा युद्ध गर्नेछन्। एक गणराज्यले अर्कोलाई कमजोर गराउन हर सम्भव प्रयास गर्नेछन् र आपसमा दुर्बल भएर ताकमा बसेको शत्रुका अधीन हुनेछन्। आपसमा फुट हुनेबित्तिकै अनायास शत्रुले आक्रमण गर्नेछ र जित्नेछ। अनि एउटा गणराज्य अर्को गणराज्यमा विलय हुनेछ। भारतमा रहेका गणराज्यहरू आपसमा स्वायत्त छन् र पनि संघको अधीनमा खुकुलो सञ्जालमा रहेका छन्। त्यसैले महाराजाले, चक्रवर्तीले र मुख्य शासकले सधैं सजग हुने कुरा के हो भने गणराज्य तथा विभिन्न स्वायत्त गणहरू संघबद्ध रहिरहुन् र एकमत भएर एकताबद्ध राज्यको विजयको पक्षमा प्रयत्न गरिरहुन्। गणराज्यहरू संघबद्ध राज्यहरू हुन् र संघको अधीनमा रहेर आफ्नो स्वायत्तताको सदुपयोग गरी एकअर्कासँग सहयोगात्मक रही उन्नति प्रगति गरिरहुन् भन्नेमा महाराजाले ध्यान दिइरहनु पर्छ।’
भीष्मले अझ स्पष्ट पार्दै भने ‘जुन गणराज्य या समूह या कुलले सामूहिक बल र आफ्नो गणराज्यको स्थिति बलियो बनाउनतर्फ लागेको हुन्छ, त्यो गणतन्त्रले सबै खालका अभीष्टता पूरा गरेको हुन्छ। संघबद्ध रही जीवन निर्वाह गरी विकास, उन्नति र प्रगति गर्ने गणराज्यलाई संघ बाहिरका देशहरूले पनि सम्बन्ध राख्न चाहन्छन् र मैत्री स्थापना गर्न उत्प्रेरित हुन्छन्। यसका लागि संघ र गणराज्यले संयुक्त रूपमा आफ्ना गुप्तचरमार्फत भएका खराब कुराहरू पत्ता लगाई त्यसको समाधान बेलैमा गर्ने,योग्य व्यक्तिहरूको हातमा गणराज्यहरूको नेतृत्व दिने गर्नुपर्छ। संघ राज्य सदस्य सदैव बुद्धिमान, सुरवीर, उत्साही र सबै कुरामा निपुण व्यक्तिहरूको सामूहिक नेतृत्वमा चल्नुपर्छ जसले महाराजालाई गणराज्यहरूको व्यवहार, आम्दानी, त्यहाँका जनताका आवश्यकता र सेवाको बारेमा जानकारी बारम्बार दिइरहून्। संघबद्ध गणराज्यहरूसँग बारम्बार छलफल गरिरहनु पर्छ र सेवाको समीक्षा गरिरहनु पर्छ। यदि अनावश्यक रूपमा, संघबद्ध राज्यहरूमा राज्यलाई कमजोर पार्नका लागि विवाद आउन थाल्यो भने त्यस बेलामा संघले दमन गरेर भए पनि गणराज्यहरूलाई जोगाओस् र जनताको धारणा बुझेर शासकहरू नियुक्त गरोस्। संघ या गणराज्यमा आफ्ना आफ्ना स्वार्थका आधारमा समुदायहरूलाई फुटाउने र राज्यहरूलाई कमजोर पार्ने काम उच्च कुल र पदाधिकारीहरूबाट भएको रहेछ भने पनि ती कथित विद्वानहरू तथा उच्च प्रशासकहरूलाई तत्काल दमन गरी संघ राज्यलाई विश्वसनीय बनाउनु पर्छ।
भीष्म पितामहले भने ‘कहिलेकाहीँ गणराज्यहरूमा क्रोध, मोह अथवा व्यक्तिगत स्वार्थका कारणले आपसमा बोलचाल गर्न छोड्छन्, त्यो उनीहरूको पराजयको कारण बन्न सक्छ जसमा संघबद्ध मुख्य शासक या राजाले या महाराजाले सजग हुनुपर्छ र गणराज्यहरूलाई बचाउनु पर्छ। जाति र कुलमा सबै समान हुन सक्छन् तर क्षमता, उद्योग, बुद्धि र रूप सम्पत्तिमा सबै एक प्रकारका हुनै सक्दैनन्। त्यसैले शत्रु वर्गले गणराज्यका जनताहरूमा भेद बुद्धि उत्पन्न गराउने छन् र सम्पूर्ण संघमा फुट आउने छ। त्यसैले सम्पूर्ण गणराज्यमा नागरिकहरूको कर्तव्य हुन जान्छ, सबै संघबद्ध रहने अनि गणराज्यको विकास गरी संघको आश्रयमा रहने।’
अर्को प्रसंग हो करको। कोषको। महाभारतमा कोषका बारेमा स्पष्ट भनिएको छ, राज्य या देश या राष्ट्र भनेको कोष हो। कोषको संग्रह जनताबाट गरिन्छ। जसरी एउटा ग्वालाले गाईबाट दूध दुहुन्छ जसले बाच्छा बाच्छीलाई पनि आवश्यक दूध दिन्छ अनि आफूलाई आवश्यक दूध पनि ढुंग्रोमा दुहेर घरमा ल्याउँछ अनि घरमा बच्चाहरूलाई दूध पनि दिन्छ, दही पनि जमाउँछ, त्यही दही मथेर घिउ पनि बनाउँछ, ठिक त्यसै गरी जनतालाई भार नपारी कर उठाउने, जोसँग आम्दानीको श्रोत छैन उसको सेवामा करको सदुपयोग गर्ने गर्नुपर्छ। आधुनिक राज्यमा कर संग्रहका अनेक तरिका छन्, करलाई एकै ठाउँमा सञ्चित कोषमा जम्मा गरेर राज्यको आवश्यक ठाउँमा, जनताको सेवामा लगाइन्छ, जनताको आपत् विपत्का बेलामा हीरा फोर्ने भनेजस्तै गरी खर्च गरिन्छ।
महाभारतमा भनिएको छ, प्रत्येक सरकारको सुव्यवस्थित सञ्चालन गर्न धनको आवश्यकता पर्दछ। त्यसले महाभारतमा पनि कोषको संलनका अनेक उपायहरू देखाइएको पाइन्छ। अर्जुनले युधिष्ठिरलाई भन्छन्, प्रत्येक दिन मागेर खाने, असंग्रह गर्ने त मुनिहरूले हो, अनुसन्धाता ब्राह्मणहरूको कर्तव्य हो तर राज्य भनेको त धन हो, धनको आवश्यक संग्रह हो। धन भनेको कोषमा रहेको सम्पत्ति हो। इन्द्रका स्थानमा बस्न पुगेका राजा नहुषले भनेका रहेछन्- धनले नै धर्मको पालना गर्न सकिन्छ, स्वर्गको प्राप्ति, हर्षको वृद्धि, क्रोधको शान्ति, शास्त्रको अध्ययन, र शत्रुको दमन सम्भव छ। त्यसले धनबाट नै सबै कामहरू गर्न सकिने भएकाले नै राजाले धन संग्रह गर्नु भनेको दैनिक कृत्य हो भन्ने मान्नुपर्छ।
राज्यत्व भनेको नै कोष हो त्यसैमा आधारित हुन्छ। शुक्र नीतिले भन्छ, कोष, बल र अर्थ भाव यी तीन तत्त्वहरू नै राज्यका विकासका आधारहरू हुन्। नीति वाक्य मृतमा सोमदेवले भनेका छन्, कोष नै वास्तविक राज्यको शासक हो, राजाको शरीर होइन। शान्तिपर्वमा भनिएको छ, स्वर्गको सुख तथा पृथ्वीमाथि विजय स्थापना गर्नका लागि कोष नै राज्यको दृढ मूल हो। कोषहीनताले राज्यको दुर्बलता देखाउँछ, बनाउँछ। कोष नहुने राजामाथि या राज्यमाथि शत्रु पक्षले आक्रमण गर्नेछन् किनभने त्यो राज्यसँग सेना पाल्ने कोष हुनेछैन, हतियार किन्ने पैसा हुनेछैन र जनताको भोकमरी टार्ने कुनै उपाय हुनेछैन।
शान्तिपर्वको ८७ औं अध्यायमा करका सम्बन्धमा या कोषका सम्बन्धमा भीष्म पितामह र महाराजा युधिष्ठिरका बिचमा केही वार्तालाप रहेको पाइन्छ। यदि देशमा संकट आएको छ र जनताको आवश्यकता पूरा गर्नु जरुरी छ भने कर उठाउने, करको भार जनतामा बोकाउने काम राज्यले गर्ने गर्छ र जनताले पनि आफ्नो राज्यका मायाले जस्तोसुकै कठिन अवस्थामा पनि राज्यलाई सहयोग गर्छन्। तर युधिष्ठिरले सोधेका कुरामा के कुराको झझल्को पाइन्छ भने राज्यमा संकट पनि छैन, जनता पनि खुसी छन् र कुनै त्यस्तो आपद् विपद् पनि परेको छैन र पनि कोष त वृद्धि गरिरहनु नै पर्छ किनभने कुनै पनि बेलामा मुलुकमा आवश्यक धनको जरुरत पर्छ। अनि युधिष्ठिर भीष्म पितामहलाई सोध्छन्, हे परम बुद्धिमान पितामह, जब राजा पूर्ण समर्थवान् छ, राजालाई या राज्यलाई पनि कुनै संकट आएको छैन र पनि कोष वृद्धि गर्नु पर्नेछ भने कसरी कोष वृद्धि गर्न सकिएला? कुनै त्यस्ता उपायहरू बताउनु होस् जसले जनतालाई पनि भार नपरोस् र बिस्तारै राज्य कोषमा पनि धन थुप्रिँदै जाओस्।
भीष्म पितामहले प्रश्न आउन नपाउँदै भन्न थाले, प्रत्येक राज्यको कर्तव्य हुन्छ, धर्मको आधारमा राज्य सञ्चालन गर्ने राजाको कर्तव्य हुन्छ देश काल परिस्थितिको आकलन गरी, समीक्षा गरी आफ्नो बलबुता र राज्यको साधनका आधारमा प्रजाको हित साधन गरोस् र जनतालाई अनुशासनका राखोस्। जे गर्दा जनताको हित पनि होस्, राज्यको हित पनि होस्, राजाको पनि हित होस्, त्यस्तो कुराको पहिचान गरी त्यस्तो गर्न लागिएको छ है भनी राज्यमा प्रचार गरोस् जसले गर्दा जनतामा प्राप्त हुने सुविधा र सेवाको जानकारी पाउन्। जसरी भँवरोले फूल र रुखको रस फूल र रुखलाई कुनै हानि नपुर्याई लिन्छ, चुस्छ, जसरी मौरीले कुनै फूललाई दुःख नदिई रस संग्रह गरेर मह बनाउँछ, जसरी गोठालोले गाईको थुनमा कुनै घाउ नपारी कोमलताका साथ दूध दुहुन्छ, त्यसै गरी राजाले राज्य रुपी गाईको दोहन गरोस् र जनता रुपी बाच्छा बाच्छीलाई दूधको रस पुर्याओस् तर राज्यलाई कुनै हानि नोक्सानी नपुगोस्। जसरी जुकाले बिस्तारै बिस्तारै, कुनै दुखाइ नदिई रगत चुस्छ, राजाले पनि कोमलताका साथ जनतालाई कुनै हानि नपुर्याई जनतासँग कर उठाओस् जसले पछि जनताकै लागि काम आओस्। जसरी बघिनीले आफ्नो मुखका दाँतले च्यापेर आफ्ना डमरूहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँछे तर न त डमरूलाई घाउ हुन्छ, न डमरु असुरक्षित नै हुन्छन्, त्यसैगरी जनताको हितमा जनतासँग कोमलताका साथ कर लिनुपर्छ। जसरी मुसाले आफ्ना तिखा दाँतले मानिसको पैतालाको मासु काट्छ तर पैतालामा कम्पन थाहा पाउँछ, बरु काउकुती लागेको हुन्छ दुखेको हुँदैन अनि पछि मात्र पैताला काटिएको थाहा हुन्छ, ठिक त्यसै गरी जनतालाई काउकुती लगाएझैँ गरी कर लिनुपर्छ।
भीष्मले कर संग्रह गर्दाको प्रक्रिया यसरी हुनुपर्ने बताए- पहिले थोरै थोरै कर लगाउनू, अनि बिस्तारै बिस्तारै जनतालाई सुविधा बढाउनू अनि कर पनि थप्दै जानू, त्यसपछि पनि अलिअलि थप्दै जानू जसले गर्दा जनतालाई करको भार नपरोस्। जसरी बहर, घोडालाई अलिअलि बोझ राख्दै बोझ बोक्ने बानी पारिन्छ, त्यसै गरी जनतालाई पनि करको भार पहिले कम कम गर्नू, बिस्तारै आवश्यकता हेरेर करको भार थप्दै जानू। जसरी बैललाई सानामा एकै पटक धेरै भारी बोकायो भने त्यो बोझ फालेर भाग्छ र फेरि बोझ बोक्न मान्दैन, त्यसै गरी जनतालाई पनि करको भार एकै पटक धेरै बोकाउन थाल्दा विद्रोह हुनसक्छ र कर नउठ्ने डर रहन्छ। राजा या राज कर्मचारीले एकै पटक सबैलाई आफ्नो वशमा पार्न सक्ने कुरा होइन, एकै पटक करको बोझ जनतालाई थोपरेमा त्यसले विद्रोह ल्याउँछ। त्यसैले पहिले राजकाजका भारदारहरू, ठुला व्यापारीहरू तथा धनीहरूसँग फकाई फकाई कर लिने काम गरियोस् अनि सामान्य जनताले पनि अरूले तिरेको सुनेपछि र देखेपछि कर दिनेछन् तर सामान्य जनतालाई भने करको नगण्य रकम लिनू। राजाले विभिन्न पदका मानिसहरूका बीचमा भेद उत्पन्न गराएर सबैलाई करको दायरामा ल्याओस् अनि त बिनाप्रयत्न अरूले पनि कर दिन थाल्नेछन् खुसीसँग।
अनि भीष्मले चेतावनी दिँदै भनेका छन् युधिष्ठिरलाई कि परिस्थिति र समयको प्रतिकूल यदि प्रजामाथि करको बोझ थपियो भने उनीहरूमा राज्यप्रति विश्वास हुँदैन। त्यस कारणले समय परिस्थिति सहज भएपछि सम्झाई बुझाई उचित तरिकाले क्रमशः कर लिन थालियोस्। महाराज, जसरी आफ्नै तबेलाको घोडालाई पनि चढेको बेलामा बढी दबाब दिइयो, घोडालाई चाबुक बढी हानियो भने रिसाएर सवारलाई मिल्काउँछ, टोक्छ, लात्ताले हान्छ, त्यस्तै हो जनतालाई पनि करको बोझ बढी दिइयो भने त्यसलाई दमन सम्झन्छन् र राजालाई फेरि टेर्दैनन्।
प्रतिक्रिया