संघीय सरकारसँग सहकार्यसँगै संघर्ष : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारसँग सहकार्य मात्रै नभई संघर्ष पनि गर्ने बताएका छन् ।

मंगलबार विराटनगरमा आयोजित स्थानीय तहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

संविधानको कार्यान्वयन सही ढंगले गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘जबसम्म हामी पुरातन सोचमा हुन्छौं तबसम्म हामी अगाडि बढ्न सक्दैनौं । हामीले के गर्ने हो भन्ने कुराको योजनाका साथ जानुपर्ने हुन्छ । त्यसैले अहिलेको सरकारले संघ सरकारले समन्वयमात्रै नभई आफ्ना अधिकारहरू स्थापित गर्न संघर्ष पनि गर्छ ।’

मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरूले दिगो विकासका लक्ष्यअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

‘हामीले त काम सुरू गरिसकेका छौं, कनिकासरी बजेट छर्ने परिपाटी अन्त्य गर्दै छौं, प्रदेशले कतिसम्मका कार्यक्रम गर्ने, संघले कति र स्थानीय तहले कति गर्ने भन्ने कुरामा मापदण्ड बनाउनुपर्छ,’ उनले भने, ताकि संघ सरकारले पनि साना योजनामा बजेट नछरोस् । प्रदेशले त साना योजना कटौती गरिसकेको छ ।’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व मुख्यमन्त्री कार्कीले गरेका थिए ।

संघीय मन्त्री देवीले तीनै तहको सरकारबीच समन्वय भएमात्र विकासले गति लिनसक्ने बताइन् ।

उनले भनिन्, ‘स्थानीय सरकारले अब कसरी अघि बढ्ने भनेर एउटा रोडम्याप बनाउन जरूरी छ ।’ मन्त्री देवीले विनियोजित बजेटसमेत स्थानीय सरकारबाट खर्च हुन सक्ने अवस्था सिर्जना हुनु योजना तथा तयारीको अभावले हुने गरेको जिकिर गरिन् ।

प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले कतिपय संघीय कानुन निर्माण हुन नसक्दा साझा अधिकार सूचीमा रहेका अधिकारहरूको प्रयोग हुन नसकेको बताए ।

कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला, प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।

संघीयता कार्यान्वयनसँगै लोकतन्त्रको सुदृढीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित असल अभ्यास कार्यक्रममा भएका उपलब्धिहरूका बारेमा भोलिसम्म प्रस्तुति दिइने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर