भूकम्पपीडितको आवास निर्माणलाई तीव्रता दिइएको छ : कांग्रेस
नेपाली कांग्रेसले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित नागरिकका लागि अस्थायी आवास (घर-टहरा) र्निमाणको कार्यलाई तीव्रता दिइएको जनाएको छ ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पबाट प्रभावित बस्तीहरूमा एक हजार घर-टहरा निर्माण गर्ने घोषणाअनुसार टहरा निर्माण कार्य तीव्र बनाइएको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
रूकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४, पुरानो गाउँमा गौनी विकको घरबाट निर्माण कार्य सुरू गरेको उल्लेख गर्दै तीन स्थानमा घर-टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको विश्वकर्माले जानकारी दिए ।
यसअघि कांग्रेस नेता एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले पीडितका लागि सयवटा अस्थायी आवास निर्माण सम्पन्न गरिसेको छ ।
कांग्रेसले इन्जिनियर, डकर्मीसहितको २५ वटा टोली भूकम्प प्रभावित दुई जिल्लाका विभिन्न क्षेत्रमा परिचालन गरेको छ ।
जाजरकोट भूकम्पपीडितका लागि एक हजार अस्थायी आवास निर्माण अभियान जारी रहेको विश्वकर्माले जनाए ।
गत कात्तिक १७ गते मध्यराति ११:४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १ सय ५४ जनाको मृत्यु भएको थियो । सयौं घाइते भएका थिए । हजारौं घरमा क्षति पुगेको थियो ।
प्रतिक्रिया