११ किलोमिटर लामो नहर सफा गर्न जुटे करिब एक हजार किसान

कैलालीको जानकी गाउँपालिका- ७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन्। त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन्।

उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन्। चार सय ८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने उक्त नहर झारजंगल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफैँले नहर सफा गर्न थालेको भुर्षा कुला सिँचाइ समितिका अध्यक्ष गोपाल गिरीले बताए।

‘एघार किलोमिटर लामो कुलो चार दिनदेखि सफा गर्दैछौं’, अध्यक्ष गिरीले भने, ‘हजारौं किसान सहभागी छौं। यतिखेर गहुँ तथा तोरी खेतीका लागि आवश्यक पानी उपलब्ध गराउने लक्ष्य छ।’

उनले भुर्षा सिँचाइ कार्यक्रमलाई सरकारले सहयोग नगरेको गुनासो गरे।

‘विधिवतरूपमा विसं २०५८ देखि सञ्चालनमा आएको भुर्षा सिँचाइ कार्यक्रममा पछिल्लो समय एकपटक पनि बजेट आएको छैन’, गिरीले भने, ‘किसानका समस्याका बारेमा राजनीतिक दल र जनप्रतिनिधि गम्भीर छैनन्। हजारौं किसानको खेतीपाती सिँचाइ गर्ने कुलो सुधारमा कसैले सहयोग नगरेकाले किसान आफैँ जुटेका हौं।’

कुलाअन्तर्गत १२ गाउँ छन्। गाउँको भागअनुसार उनीहरूले कुलो सफा गर्ने गरेका छन्। कुलो सफाइ कार्यक्रममा सिँचाइ समितिका पदाधिकारी र गाउँका बडघरले नेतृत्व लिएर काम गरिरहेका छन्। बडघरले गाउँअनुसारको कुलाको क्षेत्रफल छुट्टाइदिने गर्छन्। कुला सफा गर्दा महिलाको पनि उत्तिकै सहभागिता छ।

‘महिला-पुरुष भन्ने कुरा भएन सबै मिलेर कुला सफाइ गर्दैछौं, स्थानीय फूलबसिया चौधरीले भने, ‘कतैबाट सहयोग नभएपछि किसान आफैँ नहर सफा गर्न लागेका छौं।’

कुलाप्रति तीनै तहका सरकारले बेवास्ता गरेको जनाउँदै उनीहरू आक्रोशित छन्। ‘किसानका बारेमा सुन्ने कोही भएनन्’, स्थानीय खैरे विश्वकर्माले भने, ‘११ किलोमिटर कुलाले गर्ने सिँचाइ र किसानका बारेमा सोच्ने कोही भएनन्। खेतीपातीमै भविष्य खोजेकाहरू कति चिन्तित छन्, नेतृत्वलाई चासो छैन।’

बडघर किसान सबै मिलेर सिँचाइका लागि चार दिनदेखि कुलो सफा गर्न थालेको भागीराम चौधरी बताए।

‘कुलामा माटो धेरै थुप्रिएको थियो, हामीले धेरै मेहनत गरेर सफा गरेका छौं’, उनले भने, ‘कुलो सफा गरेपछि नागरिक पनि खुसी छन्। हामी अगुवा पनि खुसी भएका छौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर