इन्टरनेट सेवाप्रदायकद्वारा २ अर्ब ४६ करोड कर छली प्रकरणमा अख्तियारले थाल्यो छानबिन

इन्टरनेट सेवाप्रदायकहरूले गरेको कर छलीमाथि परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आन्तरिक छानबिनबाट ठूला नौ इन्टरनेट सेवाप्रदायकले दुई अर्ब ४६ करोड कर छली गरेको देखिएपछि अख्तियारले पनि यस विषयमा छानबिन अघि बढाएको हो ।

अख्तियारले गत ७ कात्तिकमा सञ्चार मन्त्रालयलाई पत्र लेखेर कागजात मागेको थियो । अख्तियारको पत्राचारपछि मन्त्रालयले ती कागजातहरू पठाएको छ । ‘अख्तियारले माग गरेबमोजिम कागजात पठाइएको छ,’ मन्त्रालयका एक अधिकारीले भने ।

अख्तियारले १५ दिनभित्र कागजात उपलब्ध गराउन भन्दै मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘इन्टरनेट सेवाप्रदायकहरूले नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषको रकम र दूरसञ्चार सेवाशुल्क नबुझाएको भन्नेसमेतको उजुरीका सन्दर्भमा तहाँबाट समेत छानबिन भइरहेको बुझिन आएकाले सोको प्रतिवेदनको प्रमाणित प्रतिलिपि यस आयोगमा उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ ।’

एक महिनापछि अख्तियारले पुनः अर्को पत्र लेख्दै थप कागजातसमेत मन्त्रालयसँग मागेको छ। कर छलीका विषयमा नयाँ उजुरी दर्ता भएपछि अख्तियारले ४ मंसिरमा मन्त्रालयलाई पत्र पठाएर थप कागजात मागेको हो ।

दूरसञ्चार प्राधिकरणबाट सञ्चालन अनुमतिप्राप्त सेवाप्रदायकहरूले नेपाल सरकारलाई नियमित रूपमा बुझाउनुपर्ने दूरसञ्चार सेवाशुल्क, ग्रामीण दूरसञ्चार विकास कोषको रकम, रोयल्टी आदि रकम नबुझाएको र उक्त रकम असुल गर्न प्राधिकरणसमेत उदासीन रहेको उजुरी परेपछि अख्तियार तातेको हो ।

दोस्रो पत्रमा अख्तियारले महालेखापरीक्षकको ५५औँ वार्षिक प्रतिवेदनमा रोयल्टीहरूका सम्बन्धमा कायम गरेको बेरुजु विवरणउपर छलफलका लागि सार्वजनिक लेखा समितिलाई अनुरोध गरिएको निर्णयसहितको पत्र, बेरुजु फर्स्योटका लागि बेरुजु फर्स्योटको निर्णय र महालेखापरीक्षकको कार्यालयलाई लगत कट्टाका लागि अनुरोध गरिएको निर्णयसहितको पत्र उपलब्ध गराउन भनेको छ । अख्तियारबाट माग भएबमोजिमको मन्त्रालयले केही कागजपत्र पठाइसकेको छ भने केही पठाउने तयारी गरिरहेको छ ।

ठूला इन्टरनेट सेवाप्रदायकहरूले नै कानुनबमोजिम तिर्नुपर्ने कर नतिरेको उजुरी परेपछि मन्त्रालयले समिति नै गठन गरेर छानबिन गरेको थियो । सहसचिव गौरव गिरीको संयोजकत्वमा गठित समितिले गत २४ भदौमा प्रतिवेदन पेस गरेको थियो । ०६९/७० देखि ०७८/७९ सम्मको १० वर्षको अवधिमा सेवाप्रदायकहरूले दूरसञ्चार रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषबापत सरकारलाई बुझाउनुपर्ने जरिवानासहितको दुई अर्ब ४६ करोड ९० लाख ५९ हजार नौ सय ७८ रुपैयाँ कर नतिरेको ठहर छानबिन समितिको छ । कर छली गर्नेमा वल्र्डलिंक, भायानेट, सुबिसु, क्लासिक टेक, टेकमाइन्ड्स नेटवर्क, मर्कन्टाइल, वेभसर्फर, पोखरा इन्टरनेट र नेट म्याक्स छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर