कांग्रेस नेता पौडेलको नेतृत्वमा जाजरकोटमा १ सय अस्थायी आवास निर्माण सम्पन्न

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको टोलीले पीडितहरूका लागि एक सय अस्थायी आवासकाे संरचना निर्माण सम्पन्न गरेको छ ।

पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको थियो। टोलीले शुक्रबारसम्म श्रमदान गरेर १०० वटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए ।

भूकम्पपछि क्षतिग्रस्त भएका केही घरहरुको भग्नावशेष पन्छाउन समेत संलग्न उक्त टोली शनिबार काठमाडौं आइपुगेको छ । टोलीमा पौडेलसहित दिल्लीराम सुवेदी, दीपकबाबु कडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत, महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका नेता कार्यकर्ता रहेका थिए ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेसँगै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको थियो। कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएर अस्थायी टहरा बनाउन सहयोग गर्ने निर्णयअनुसार अन्य टोली पनि प्रभावित क्षेत्रमा सक्रिय रहेको छ ।

नेता पौडेलका अनुसार टोलीले १०० वटा अस्थायी घर निर्माणमा श्रमदान गरे पनि आवासका लागि चाहिने जस्तापाताको अभावका कारण स्थानीय स्रोतसाधनको प्रयोग गरेर सुरक्षित बनाउने कार्य भएको छ । आवास निर्माणको सरकारी मापदण्ड बनेपनि सोअनुसार समयमा प्रभावितले रकम पाउन नसक्दा समस्या भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *