निषेधित क्षेत्र घोषणापछि माइतीघर र बानेश्वर सुनसान

निषेधाज्ञापछि माइतीघर र बानेश्वर क्षेत्र सुनसान बनेको छ । न्याय माग्न माइतीघरमा भेला हुने स्थानमा सुरक्षाका कारण प्रशासनले लगाएको निषेधाज्ञासँगै सो क्षेत्र सुनसान बनेको हो ।

विगत १६१ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बस्दै आएका आरतीका परिवार हाल शान्तिवाटिकामा न्यायको माग गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ४ गतेदेखि ३० दिनसम्मका लागि निषेधाज्ञा जारी गरेपछि सुरक्षाकर्मीले माइतीघर खाली गरेका हुन् । माइतीघरमा निरन्तर धर्नामा बस्दै आएका आरतीका परिवारलाई भने निषेधाज्ञा जारी भएपछि प्रहरीको टोलीले अन्यत्रै सारेको हो ।

माइतीघर मण्डलामा ‘राजा आऊ, देश बचाऊ’ भन्ने अभियानमा बसेका र आरतीका परिवार १६० दिनदेखि धर्नामा बसेका थिए ।

काठमाडौंको माइतीघरसँगै भद्रकाली, रत्नपार्क, ललितपुरको पाटन, मंगलबजारलगायत क्षेत्र नागरिक निर्धक्क उभिएर सरकारलाई खबरदारी गर्न र न्यायका लागि औंला उठाउने ठाउँका रूपमा परिचित भएपछि माइतीघर क्षेत्र थप परिचित थियो । यस खबरदारी थलोमा पनि सरकारले निषेधाज्ञा लगाइदिएको छ ।

मंसिर ७ गते दुर्गा प्रसाईं र नेकपा (एमाले) निकट युवा संघले गरेको प्रदर्शनबीच हुन सक्ने सम्भावित घटनालाई रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर क्षेत्रलाई नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।

निषेधाज्ञाले व्यवसायी पनि मारमा
निषेधाज्ञाका कारण सो क्षेत्र सुनसान बनेपछि व्यापारीहरूलाई समेत यसको असर परेको छ । माइतीघर नजिकै विगत दुई वर्षदेखि मण्डला फुड सञ्चालन गर्दै आएका नेत्र कार्की भन्छन्, ‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने नागरिकको नैसर्गिक अधिकारको हनन भएको छ ।’

त्यस्तै दुई दिनमा १० देखि १५ प्रतिशत व्यापार पनि घटेको छ, व्यापार व्यवसाय गर्नेमाथि पनि राज्यले केही सोचेर यस सम्बन्धमा निर्णय निकालेको भए उचित हुने उनको भनाइ छ ।

धादिङका कुवेर तिवारीले विगत पाँच वर्षदेखि माइतीघर नजिक लिक्वेर शप सञ्चालन गर्दै आउएका छन् । निषेधाज्ञाप्रति चिन्ता व्यक्ति गर्दै उनी भन्छन्, ‘मानिसको चहलपहल हुँदा व्यापार पनि राम्रो हुन्छ । आन्दोलनको क्रममा त एक दिनमै २५ देखि ३० कार्टुनसमेत पानी बेचियो तर अहिले दुई दिनयता व्यापारमा पनि नियमित ह्रास छ ।’

एक वर्षदेखि माइतीघर नजिकै मकै पोल्दै आएकी गंगा भुजेल भन्छिन्, ‘खोइ यो निषेधाज्ञाले गर्दा बाटोमा हिँड्ने बटुवाहरू पनि घटेका छन् । मान्छेहरू जति चहलपहल गर्‍याे त्यति राम्रो मकैको व्यापार हुने हो तर निषेधाज्ञाले गर्दा २० प्रतिशत व्यापार घटेको छ ।’

बानेश्वरका होलसेल व्यापारी प्रेम थापा भन्छन्, ‘मान्छेको चहलपहल घट्नुका साथै सवारी साधनसमेत कम चलेको हुनाले व्यापारमा प्रतिकूल असर परिरहेको छ । सरकारले चालेको कदमका कारण पनि हामीहरूलाई दुःख झेल्नु परेको छ । न्यायका लागि शान्तिपूर्ण अधिकार माग्न पाउने अधिकारको पनि हनन भएको छ । यसले नागरिकको अधिकार पनि खोसियो भने हाम्रो व्यापार पनि घट्यो ।’

मंसिर ७ गते भएको दुर्गा प्रसाईंको प्रदर्शन र एमालेको युवा संघले गरेको प्रदर्शनबीच हुन सक्ने सम्भावित घटनालाई रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर क्षेत्रलाई नै निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त घोषणालगत्तै माइतीघरको धर्ना थलो र बानेश्वर शान्त बनेको छ । न्याय माग्ने थलो बनेको माइतीघर मण्डलामा मानिसको चहलपहलमा कमी आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *