मानव अधिकार आयोगले भन्यो- शान्तिपूर्ण रूपमा प्रदर्शन गर

राष्ट्रिय मानव अधिकार आयोगले संविधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुन सम्बद्ध पक्षलाई गरेको आग्रह गरेको छ ।

आयोगले आगामी दिनमा आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आग्रह गरेको हो ।

नेकपा (एमाले) को भातृ सङ्गठन राष्ट्रिय युवासङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट आज काठमाडौँमा आयोजित प्रदर्शनकोे दिनभर अनुगमन गरेपछि जारी विज्ञप्तिमा त्यस्तो आग्रह गरिएको हो ।

अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवासङ्घ नेपालको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको पाइएको तथा बल्खुमा भएको प्रदर्शनमा युवासङ्घ र अभियान समूहबीच झडप भएको जनाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको र सो क्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएका जनाइएको छ ।

प्रदर्शनका कारण प्रदर्शनस्थल वरपरका विद्यालयमा पठनपाठन अवरूद्ध भएको, उक्त क्षेत्रका पसल बन्द हुँदा निर्वाध रूपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको र सर्वसाधारणले स्वतन्त्र एवं सुरक्षित रूपमा आवतजावत गर्न नपाएको हुँदा त्यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगले बताएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *