घाँस काट्न जंगल गएकी वृद्धाको हत्या गरेर सुन लुटपाट, हत्या र सुन किनबेचमा संलग्नसहित ६ जना पक्राउ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७, शान्तिपुरकी ६५ वर्षीया नारूदेवी जोशीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । यस्तै लुटिएकाे सुन किनबेचमा संलग्न सुनचाँदी पसल सञ्चालकसहित अन्य पाँच जना पनि पक्राउ परेका छन् ।
गत कात्तिक १९ मा घर नजिकै मृत भेटिएकी जोशीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज स्थानीय महेश डगौरालाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकी जोशीको हत्यामा संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएपछि डगौरालाई सार्वजनिक गरिएको बताए ।
‘डगौरा लागुऔषध प्रयोगकर्तासमेत रहेछन् । उनले नारूदेवी एक्लै घाँस काटन जङ्गल जाने क्रममा देखेपछि पिछा गर्दै गएको पुष्टि भएको छ,’ प्रहरी उपरीक्षक थापाले भने, ‘डगौराले घाँस काटिदिन्छु भन्दै घाँटी च्यापेर हत्या गरेको स्वीकार गरेका छन् ।’
वृद्धाको हत्यापछि सुन लुटपाट गरेको र सुन बिक्रीका लागि धनगढी पुगुेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘यसअघि डगौराले साइकल चोर्ने र लुटपाट गर्ने गरेको देखियो,’ उनले भने, ‘वृद्धाको हत्या गरी कान, नाकमा लगाएका तीन थान गहना तीन पसलमा बिक्री गरेको देखियो ।’
हत्या गरेकै दिन डगौरासुन बिक्री गरेर धनगढीदेखि नेपालगञ्ज हुँदै मुम्बई बैङ्गलोर भागेको प्रहरी उपरीक्षक थापाले बताए । धनगढीका तीन पसलमा ४६ हजारको सुन बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । वृद्धाको हत्यापछि एक दशमलव ५० आनाको फुली, एक दशमलव ६९ को मुन्द्रा र दुई दशमलव ७०० आनाको अकोे मुन्द्रा लुटपाट भएको थियो ।
नारूदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बिक्री गर्न सहयोग पुगाउने लक्ष्मण चौधरी, नीरज भट्ट र सुन खरिद गर्ने इन्द्रबहादुर बराल, खगेन्द्र सोब र दीपेन्द्र सिजापतिलाई आज कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । सुनचाँदी पसलधनीले लक्ष्मण चौधरी र नीरज भट्टले आफूहरूसँग श्रीमती बिरामी भएकाले आपतमा सुन बिक्री गर्नुपरेको बताएका थिए ।
प्रहरी उपरीक्षक थापाले पाँच जनाविरूद्ध फरक-फरक मुद्दा आकर्षित हुने बताए । महेश डगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार, सुन पसलधनीविरूद्ध गैरकानुनी सुन खरिद बिक्रीको मुद्दा लगाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *