सर्वाधिक कर तिर्नेमा सूर्य नेपाल, व्यक्तितर्फ विजयकुमार शाह

आर्थिक वर्ष ०७८/७९ मा सबैभन्दा बढी कर तिर्नेमा संस्थातर्फ सूर्य नेपाल र व्यक्तितर्फ विजयकुमार शाह रहेका छन्। सूर्य नेपाल यसअघि पनि ८ पटकसम्म सबैभन्दा बढी आन्तरिक राजस्व दाखिला गर्ने कम्पनीको सूचीमा अग्रणी स्थानमा रहँदै आएको थियो।

आन्तरिक राजस्व विभागले बिहीबार आयोजना गरेको कार्यक्रममा सूर्य नेपाल र शाहसँगै सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका १६ करदातालाई सम्मान गरिएको छ। विभागले २०६९ सालदेखि हरेक वर्ष विभिन्न क्षेत्रका ठूला करदातालाई सम्मान गर्दै आएको छ।

यसैगरी, सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी, निर्यात कारोबारमा डाबर नेपाल, विशेष उद्योगमा एशियन पेन्ट, कृषि एवं पशुपक्षीजन्य उद्योगमा ओसीबी फुड्स एन्ड फिड्स प्रालि, सहकारी तथा लघुवित्त कारोबार गर्ने संस्थामा छिमेकी लघुवित्त वित्तीय संस्था, बैंक तथा वित्तीय कारोबार गर्ने संस्थामा ग्लोबल आइएमइ बैंक, बिमा व्यवसायमा लाइफ इन्सोरेन्स कर्पोरेसन, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक कम्पनीमा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल रहेका छन्।

पर्यटन व्यवसायमा मनकामना दर्शन प्रालि, वस्तु व्यापारको कारोबारमा भाट भटेनी कम्पनी प्रालि, मध्यमस्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज बजार, ऊर्जामूलक उद्योगमा भोटेकोशी पावर कम्पनी र रेमिट्यान्स तथा मनि ट्रान्सफरहरूमा आईएमई रेमिट्यान्स कम्पनी रहेका विभागले जनाएको छ।

२०६७ साउनदेखि २०७९ असारसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्नेमा सूर्य नेपाल प्रालि रहेको विभागको भनाइ छ।

अघिल्लो आवमा सबैभन्दा बढी कर तिर्ने १० जना कर्मचारीलाई पनि विभागले सम्मान गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *