सुन तस्करीमा संलग्न एउटै गिरोहद्वारा ४ खर्ब बढीको क्रिप्टो कारोबार

सुन तस्करीमा संलग्न एउटै समूहले एक वर्षमा चार खर्ब रुपैयाँभन्दा धेरै अवैध क्रिप्टो कारोबार गरेको भेटिएको छ । यसले देशमा अनौपचारिक अर्थतन्त्र कुन हदसम्म मौलाएको छ भन्ने भयानक अवस्था देखाएको छ ।

प्रहरीका अनुसार दोलखाको लामाबगर नाका हुँदै सुन तस्करी गर्ने गिरोहमाथि अनुसन्धान गर्ने क्रममा सो समूहले चार खर्ब रुपैयाँभन्दा धेरैको कारोबार क्रिप्टो करेन्सीमार्फत गरेको खुलेको हो । प्रहरीले मंगलबार सुन तस्करीको अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयमा बुझाएको रायसहितको प्रतिवेदनमा दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ दशमलव ७२९ युनिट युएसडिटीबराबरको कारोबार गरेको उल्लेख छ । एक युनिट युएसडिटीबराबर एक सय ४० रुपैयाँ छ । यो दर घटबढ भइरहन्छ । एक युनिट युएसडिटीबराबर एक सय ४० रुपैयाँको हिसाबले उक्त समूहबाट चार खर्ब आठ अर्बभन्दा धेरैको क्रिप्टो कारोबार भएको देखिन्छ ।

‘अहिलेसम्मको अनुसन्धानमा यो समूहले खर्बौँको क्रिप्टो कारोबार गरेको पाइएको छ,’ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)की निर्देशक एआइजी किरण बज्राचार्यले भनिन्, ‘यस विषयमा नेपाल राष्ट्र बैंकसँग समेत मिलेर  विस्तृत अनुसन्धान गरिरहेका छौँ ।’ यसअघि सवारीसाधनका पार्टपुर्जामा लुकाएर सुन तस्करी गर्ने गिरोहले पनि क्रिप्टोमार्फत भुक्तानी गरेको पाइए पनि यति ठूलो कारोबार भेटिएको थिएन ।

सुन तस्करीको अनुसन्धानमा प्रहरीले पक्राउ गरेका १५ मध्ये दुईजना क्रिप्टोसँग जोडिएका व्यक्ति हुन् । गुल्मीका सनद प्रधान र रामेछापकी महिमा माझी क्रिप्टो कारोबारमा प्रत्यक्ष जोडिएका व्यक्ति हुन् । महिमाको त मोबाइल तथा ल्यापटपको फरेन्सिक रिपोर्ट अझै आइसकेको छैन। यो समूहले अझै ठूलो कारोबार गरेको प्रहरी आशंका छ । उनीहरूको १२ वटा क्रिप्टो वालेट पत्ता लगाएको छ। स्पट वालेट, ट्रस्ट वालेट तथा विनान्स एपमार्फत उनीहरूले अवैध कारोबार गरेका थिए । सुन तस्करी मात्र नभई हुन्डीलगायत अन्य कारोबारको रकमसमेत क्रिप्टोमार्फत मिलाएको प्रहरी आशंका छ ।

सुन तस्करी तथा क्रिप्टो कारोबारमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य १२ जनालाई फरार प्रतिवादी बनाउन सिफारिस गरेको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *