तीन महिनामा नेपाल लाइफ इन्स्योरेन्सको नाफा १५.७९ करोड

नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफामा १०.२५ प्रतिशत वृद्धि भएकोे छ । यस त्रैमासकको अन्त्यसम्म कम्पनीको जगेडा तथा कोषमा करिब ७९.३३ करोड रूपैयाँ रहेको छ । यो अघिल्लो आवको अन्त्यसम्मका आधारमा २१.८१ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा करिब १६५ अर्ब ५२ करोड रहेको ग्रस इन्स्योरेन्स ल्याबिलिटिज ५.८६ प्रतिशतले बढेर १७५ अर्ब २१ करोड पुगेको छ । त्यस्तै महाविपत्ति कोषमा १०२ करोड रूपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको अन्त्यसम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो । कम्पनीको लगानी ५.३९ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्म कम्पनीले १७९ अर्ब ३६ करोड रूपैयाँ लगानी गरेको छ । प्रकाशित विवरणअनुसार गत आर्थिक वर्षको अन्त्यमा करिब एक अर्ब ३८ करोड भुक्तानी हुन बाँकी दाबीबापत व्यवस्था गरिएकोमा अहिले ३९.३५ प्रतिशतले घटी ८३.९१ करोड रूपैयाँ रहेको छ । आगामी दिनमा दाबी भुक्तानी प्रक्रिया झन् सरल हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।

कम्पनीले असोज मसान्तसम्ममा १० अर्ब ९३ करोड कुल बिमाशुल्क आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ८.७२ प्रतिशतले बढी हो । यसैगरी कम्पनीले एक अर्ब ५८ करोड प्रथम बिमाशुल्क आर्जन गरेको छ, जुन समीक्षा अवधिको तुलनामा १३.७९ प्रतिशतले बढी हो । यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १२४.७२ रूपैयाँ, मूल्य अनुपात आम्दानी ८३.१४ गुणा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य २,३०७ रूपैयाँ रहेको छ ।

भूकम्प प्रभावितलाई राहत 
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पबाट पीडित जनताका लागि राहत सामग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतका लागि कम्पनीले १० लाख रूपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको हो । कम्पनीका कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारीले नलगाड नगरपालिका, जाजरकोटका नगर प्रमुख डम्बरबहादुर रावतलाई दुई सय थान, भेरी नगरपालिकाका नगर प्रमुख दलबहादुर घर्तीलाई दुई सय थान र आठबिसकोट नगरपालिका रुकुम पश्चिमअन्तर्गत १४ नं. वडाका अध्यक्ष हुकुमबहादुर पुनलाई तीन सय थान गरी कुल सात सय थान कम्बल हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने अभिप्रायका साथ कम्बल प्रदान गरिएको बताए । भूकम्प प्रभावित क्षेत्रमा निकट भविष्यमा कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रमुख कार्यकारी अधिकृत पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर