हमासको कमाण्ड सेन्टर रहेको भन्दै गाजा अस्पताल छिर्‍याे इजरायली सेना

हमासको कमाण्ड सेन्टरलाई निशाना बनाउँदै इजरायली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौं बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमाण्ड सेन्टर रहेको सेनाले दाबी गरेको छ ।

इजरायली र प्यालेस्टिनी अधिकारीहरूले गाजा सहरको अल-शिफा अस्पतालमा सैन्य कारबाही भइरहेको बताएका छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आफ्नो सेनाले उक्त अस्पतालको ‘निर्दिष्ट क्षेत्रमा हमासविरूद्ध सटिक र लक्षित’ कारबाही गरिरहेको बताएको छ ।

अस्पतालभित्र रहेका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अधिकारी युसेफ अबुल रेसले अस्पताल परिसरभित्र ट्यांक तथा आकस्मिक र स्वागत भवनहरूमा दर्जनौं सैनिक र कमाण्डोहरूलाई देख्न सकिने एएपफीलाई बताएका छन् ।

अल-शिफा अस्पताललाई ‘सुरक्षित गरिनुपर्छ’ भन्ने अमेरिकाको कडा चेतावनीपछि इजरायलले गुप्तचर सूचना र ‘अपरेसनल आवश्यकता’ का आधारमा छापा मारिएको बताएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार हजारौं बिरामी, कर्मचारी तथा विस्थापित सर्वसाधारण उक्त अस्पताल परिसरभित्र रहेका छन् ।

प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन् । एनेस्थिटकबिना नै चिकित्सा प्रक्रियाहरू भइरहेको भन्दै उनीहरूले खानेकुरा तथा पानीको अभाव भएका परिवारहरू करिडोरमा बस्ने गरेका र सडेका शवका दुर्गन्ध फैलिरहेको बताएका छन् । अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले भने, ‘अस्पताल परिसरमा शवहरू छरपस्ट छन् र शवगृहमा अब बिजुली छैन ।’

कमाण्ड पोष्ट र हतियार भण्डारण गर्न हमासले अस्पताललाई ढालका रूपमा प्रयोग गर्दै आएको इजराइलले लगातार दाबी गर्दै आएको छ तर उक्त दाबीलाई हमासले अस्वीकार गरेको छ । सेनाले हमासको उक्त प्रयोगले अस्पतालको ‘अन्तर्राष्ट्रिय कानुनअन्तर्गत संरक्षित स्थिति’ लाई ‘जोखिम’ मा पारेको बताएको छ ।

प्यालेस्टिनी लडाकु समूहले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अल-शिफा अस्पतालमा इजराइली आक्रमणका लागि ‘पूर्ण रूपमा जिम्मेवार’ भएको आरोप लगाएको छ । गाजामा कुनै अधिकार नभएको तर ऐतिहासिक रूपमा प्यालेस्टिनीहरूको प्रतिनिधि निकाय प्यालेस्टिनी प्राधिकरणले ‘अस्पतालभित्र गरिएको नरसंहारविरूद्ध’ चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर