लाेप हुँदै माैलिक संस्कृति, तिहारमा पनि बिक्दैन मादल
नेपाली लोक संस्कृतिसँग जोडिएको छ मादलको महत्त्व। अझ गीत-सङ्गीत पारखीका लागि मादल निकै प्रियकर हुन्छ।
मादलबिना हरेक लोकगीत-सङ्गीत अपुरो हुन्छन्। नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ। तिहार पर्व होस् या अन्य मेला महोत्सव गाउँ सहर जताततै मादल घन्किन्छन्। जब मादलको ताल बज्छ, तब हरेक मानिसको मनमा उमङ्ग भरिन्छ। पछिल्लो समय मादलको प्रयोग घट्दै गएकामा सङ्गीतका पारखी मात्र होइन, मादल बनाउने व्यवसायीहरू पनि चिन्तितमा छन्।
यतिबेला गाउँ सहर जताततै तिहारको रौनक छ। पहिला पहिला देउसीभैलो खेल्नेले बजाएको मादलको धुन परपरसम्म सुनिने गर्दथ्यो। तर, आजभोलि मादल कम बज्ने गरेका छन्। तिहारमा देउसीभैलो खेल्ने टोलीहरूले एक महिना अगाडि नै मादल किनिसकेका हुन्थे। दैउसीभैलो खेल्ने सांस्कृतिक टोलीहरूले जोर मादल किन्ने गर्दथे।
तर, यस वर्ष भने तिहार भित्रिसके पनि मादल बिक्री नहुँदा बागलुङका मादल व्यवसायीहरू चिन्तित बनेका छन्। नेपालको सांस्कृतिक बाजामध्येको मादल विशेषगरी तिहार र विभिन्न चाडपर्वको बेला बजाएर रमाइलो गर्ने नेपालीजनको पहिचान नै हो।
विगतका वर्षहरूमा यो याममा सयौँ मादल बच्ने व्यवसायी यतिबेला घाम तारेर ग्राहक कुरेर बसिरहेका छन्। तिहारका बेला नाच्दै-गाउँदै सांस्कृतिक कार्यक्रम गर्ने समूहले मादल किन्ने गरे पनि पश्चिमा संस्कृति र आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादल व्यवसाय संकटमा पर्न थालेको हो।
पछिल्लो समय देउसीभैलो होस् या कुनै कार्यक्रम नयाँ युवा पुस्ताहरू मोबाइल, डेक र ठूला-ठूला स्पिकरमै रमाउँछन्। उहिलेका मादलको तालमा नाचिने नाचहरू पनि लोप भइसकेका छन्। आधुनिक, पप र रिमिक्सका नाममा युवा पुस्तामाझ मादलप्रतिको आकर्षण कम हुँदै गएको छ।
एक दशक अगाडिको तिहारको समयमा एउटै पसलबाट पाँच सयको हाराहारीमा मादल बिक्री हुने गर्थे तर यस वर्षको तिहारमा १० वटासम्म पनि बिक्री नभएको यहाँका व्यवसायीहरूको गुनासो छ।
बागलुङका विभिन्न ठाउँहरुमा वर्षौँदेखि मादल व्यवसाय गर्ने व्यापारीहरू हिजोआज निकै चिन्तित बनेका छन्। पहिले-पहिले दसैँ-तिहारका समयमा गाउँ र सहरबाट मादलको माग निकै हुने गरे पनि अहिले तीन वर्ष अगाडि बनाएका मादल पनि बिक्री नभएको स्थानीय पिरताम्बर दर्जी बताउँछन्।
आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादलको व्यापार घट्नको साथै परम्परागत बाजा लोप हुन थालेको दर्जीले दुखेसो पोखे।
‘पेसा धरापमा पर्दै गएको छ, रोजीरोट घुम्ने डर भयो, हातमा सीप मात्र भएर के गर्ने?, बनाएका सामान बिक्री हुँदैनन्, आधा बढी उमेर यही पेसामा बिताएँ, अब बुढेसकाल पनि लाग्यो, के काम गर्ने, मादल त बसीबसी पनि बनाउन सक्थेँ,’ उनले भने, ‘कुनै बेला पसलमा मान्छेको भीड हुन्थ्यो, मागअनुसारको मादल पुर्याउन सक्दैनथे, अहिले कोही आउँदैनन्, दिनभरि पसल खोल्यो, पुराना मादललाई रङरोगन गरेर नयाँ बनायो, तुना खुस्काकाको कस्ने बाहेक अरू केही उपलब्धि छैन।’
विदेशी कला, संस्कृति र बाजाहरूलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरूको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको छ। बागलुङमा विभिन्न जातजातिका आफ्नै कला, संस्कृति छन्। हरेक चाडबाडका बेला उनीहरुले आफ्नो रीतिरिवाज अनुसारका गीत गाउने, बजाउने र रमाइलो गर्ने प्रचलन छ।
युवा पुस्ता पलायन र बुढापाकाले प्रयोग गर्न नसक्ने हुँदा मादलको प्रयोग घट्नुका साथै मौलिक संस्कृति पनि लोप हुने अवस्थामा पुगेका छन्। सत्ताइस वर्षदेखि मादल व्यवसाय गर्दै आएका दिलबहादुर नेपालीले सरकारले मौलिक संस्कृतिसँगै बाजाहरूको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको गुनासो गरे।
विगतमा तिहारका लागि वर्षभरि मादल बनाउने गर्ने र एक महिनामा बच्ने गरेको स्मरण गर्दै पहिले बनाएका मादल बिक्री नहुँदा आजसम्म पनि गोदाममै थन्किएको सुुनाए। उनी मादल व्यवसायको संरक्षण गर्न सरकारले गाउँ-गाउँ विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम समावेश गर्नुपर्ने बताउँछन्। जिल्लाका १० वटै पालिकाले कला संस्कृति संरक्षणका लागि पश्चिमा संस्कतिलाई निरुत्साहन गरे मादल व्यवसाय फस्टाउने र स्थानीय संस्कृतिको जगेर्ना हुने नेपाली बताउँछन्।
आफूले उत्पादन गरेको मादल बागलुङ जिल्लाका विभिन्न स्थानसँग गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रूकुम, पर्वत, म्याग्दी र बुटवलसम्म पुग्ने गरेको भन्दै अचेल कतैबाट पनि माग नआउने उनले सुनाए। मादल बनाउने सम्पूर्ण कच्चापदार्थ नेपाली नै प्रयोग हुने उनको भनाइ छ।
मादलको माग घटेसँगै कच्चापदार्थ पनि पाउन छोडेको नेपालीले बताए। अन्य समयमा भन्दा तिहारमा मादलको व्यापार हुने भए पनि अहिले मादलको व्यापार ९५ प्रतिशतले कमी आएको उनको भनाइ छ। पहिले विदेश जानेहरूले पनि आफू कहाँबाट मादल किनेर लैजाने गरेको उनी सम्झिन्छन्।
नेपाली भन्छन्, ‘मैले मादल बनाउन थालेको २२-२२ वर्ष भयो, काम सुरू गर्ने बेला धेरैले हेप्थे, छालाको काम गर्छ भन्थे, त्यस्तो भन्दा मन खिन्न हुन्थ्यो, पछि-पछि मादल बिक्री भएर पैसा कमाउन थालेपछि जसले जे भने पनि मैले केही मतलब नै राखिनँ, परिवार राम्रोसँग चलेको थियो, छोराछोरी पढाउने, हुर्काउने पनि यहीँबाट भयो, वर्षभरि मादल बनायो, तिहार आउने बेला बेच्ने गरिन्थ्यो, कुनै मेला महोत्सवमा पनि लगेर पनि विक्री हुन्थ्यो, अहिले जहाँ लगेर राखे पनि विक्री नै हुँदैन, हातमा भएको सीप बिक्न छोड्यो।’
पछिल्लो समय सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको धेरैको बुझाइ छ। नेपाली मौलिकता र परम्परासँग जोडिएको बाजा मादल व्यवसाय आधुनिकतासँगै सङ्कटमा परेपछि व्यवसायीहरू पनि पलायन हुने अवस्था आएको छ।
अचेल देउसीभैलो खेल्नेले इलेक्ट्रोनिकक्स साउण्ड सिस्टम किन्ने गर्छन्। साउण्ड सिस्टमलाई न्यूनतम पनि पाँच हजार रूपैयाँ पर्छ। तर, मादल दुई हजार पाँच सय रूपैयाँमै पाइन्छ। मादल सस्तो हुँदा हुँदै पनि देउसीभैलो खेल्नेहरूले स्पिकर र माइक्रोफोन किन्ने गरेका छन्। भैलो खेल्नेले पहिलेको जस्तो मौलिक गीत र नाच नदेखाउने स्थानीय ६७ वर्षीय दलबहादुर घर्ती मगरले बताए।
उनले तिहारमा पुराना मौलिक गीत गाउने, मादल, झ्याली, बजाएर देउसीभैलो खेल्ने गरे पनि अचेल त्यो सबै हराउँदै गएको बताए। आफ्ना पालामा तिहारका बेला सोरठी, मारूनीलगायतका नाचहरू देखाउने गरे पनि अहिलेका युवा पुस्ताले चासो नदिँदा त्यस्ता नाँचहरू हराउँदै गएको उनको भनाइ छ।
सोरठी र मारूनी नाच गीत र मादलकै तालमा नाचिने घर्तीमगर बताउँछन्। आफूहरूको पुस्ताले नाच्न, गाउन र बजाउन नसक्ने भएपछि त्यस्ता मौलिक संस्कृति लोप हुँदै गएको घर्ती मगरको गुनासो छ। स्थानीय सरकारले पुराना कला-संस्कृतिलाई संरक्षण गर्न चाहे बुढापाका मिलेर निःशुल्क सिकाउन सक्ने उनी बताउँछन्।
‘हाम्रो जिजुबाजेदेखि नै चल्दै आएका रीतिथिति हामीहरूले मनायौं, उनले गाउने गीत, बनाउने, मादल, डम्फु हामीहरूले पनि बजायौं, हाम्रो पालासम्म पुराना संस्कृतिहरू बँचेका थिए, अहिले हामीहरू नसक्ने भयौं, बुढेसकाल लाग्यो, हात पाखुरा चल्दैनन्,’ उनले भने, ‘हाम्रो पालामा अहिलेको जस्तो गीत बजाउने, सुन्ने चलन थिएन, उतिबेला त हामी आफैं गाउने, बजाउने र मेला महोत्सवमा रमाइलो गर्ने चलन थियो, रोदी बस्ने पनि गरिन्थ्यो अहिले त यो कहीँकतै सुनिँदैन, रोदीजस्तै तिहारमा नाच्ने मारूनी र सोरठी पनि लोप भएर जाने भए।’
पछिल्लो समय मादल बिक्री हुन छोडेपछि ‘इलेक्ट्रोनिक्स साउण्ड सिस्टम’को माग बढी रहेको व्यापारीहरू बताउँछन्। ठूला-ठूला मेला महोत्सवका लागि मात्र बिक्री हुने स्पिकर हिजोआज तिहारमा भैलो खेल्नका लागि किनिन्छन्।
स्पिकरमा रेकर्ड गरेको गीत बजाएर नाच्न सहज हुने हुँदा धेरैले साउण्ड सिस्टम किन्न थालेको बागलुङका मिलन सुवेदीले बताए। उनले यस वर्ष तिहार अगाडि नै ७० वटा साउण्ड सिस्टमका लागि माग आएको हुँदा आफूले काठमाडौँदेखि १०० बढी खरिद गरेर ल्याएको भन्दै त्यसले नपुगेर थप डेढ सय मगाएको बताए।
आफ्नो पसलबाट हरेक गाउँ र बजारमा साना-ठूला माइक तथा स्पिकरहरू पुग्ने हुँदा आम्दानी पनि राम्रो गर्न सफल भएको उनको भनाइ छ। आफूले १३ वर्षदेखि घडी, रेडियो, टीभी, मोबाइललगायतका विद्युतीय सामग्री बिक्री तथा मर्मत गर्दै आएको बताउँदै सुवेदीले तीन वर्षदेखि साउण्ड सिस्टमको माग निकै बढेकाले यसको व्यापारतिर लागेको बताए।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले नयाँ पुस्तालाई मौलिक संस्कृतिको संरक्षणमा आकर्षित गर्न पाठ्यपुस्तकमै स्थानीय स्तरमा रहेका कला, संस्कृति, परम्परालगायतका विषयवस्तु समावेश गरेर पठनपाठन सुरू गरेको बताए।
‘हामी सानो हुँदा हाम्रो बुबा, हजुरबुबाहरूले तिहार र मेला महोत्सवको बेला गीत गाएर मादल बजाउँदै नाच्ने गर्नुहुन्थ्यो,’ अध्यक्ष बुढामगरले भने, ‘कला-संस्कृति लोप हुनबाट जोगाउनका लागि अहिलेदेखि नै नयाँ पुस्तालाई आकर्षण गर्ने खालका कामको थालनी गर्दैछौं।’
पहिले यस क्षेत्रमा रहेका यानीमाया, सुनियाया, झ्याउरेलगायत मादलको तालमा गाइने गीतहरू लोप भएको अध्यक्ष बुढामगरले बताए। युवा पुस्तालाई मौलिक संस्कृति संरक्षणमा अग्रसर गराउनका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको र कामसमेत भइराखेको उनको भनाइ छ।
प्रतिक्रिया