वैकल्पिक खेतीको रूपमा विस्तार हुँदै किवी खेती

ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रूपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ ।

फुङ्लिङ नगरपालिका-११ बमबहादुर भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै आएका छन् । उनले भने, ‘अलैँचीको विकल्पका रूपमा किवी खेती विस्तार गर्दै लगेको छु ।’

अलैँचीमा विभिन्न रोग तथा मूल्यमा उतारचढाव आइरहने भएकाले अलैँचीको विकल्पमा किवी खेती विस्तार गर्दै गएको उनको भनाइ छ । सोही वडाका लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । तर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गएपछि शुक्रराज लिम्बूले पर्यटकीय क्षेत्रमा किवी खेती विस्तार गरेका छन् ।

लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटल बन्द भयो । छरछिमेक घर छोडेर बसाई सरेर जानुभयो । पर्यटकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्न थाल्यो । पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाई सरेर गएका छन् ।

घर भने त्यतिकै छ । स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लालीखर्कका फाँटमा सम्भावनाको खाजी गर्न थाले । रित्तिएको बस्तीमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले लिम्बूको मन तान्यो ।

उनले किवी खेती विस्तारै गर्न थाले । लालीखर्कका फाँटमा किवीको बोट झाँगिन थालेको छ । सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गरेको उनले बताए ।

अर्को वर्षदेखि व्यावसायिक उत्पादन हुने उनको भनाइ थियो । कृषि ज्ञान केन्द्र ताप्लेजुङले किवी किसानलाई पाँच लाख अनुदान दिएको छ । पाँच लाख रूपैयाँ अनुदानबाट किवीको फलामे थाँक्राको व्यवस्थापन गरेको किसान लिम्बूले बताए ।

जिल्लामा पछिल्लो समय किवी फलको व्यावसायिक खेती गर्न थालिएको छ । किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यावसायिक खेती लगाउन थालेका हुन् ।

खेतीमा संलग्न किसानले किवी फल आम्दानीको राम्रो स्रोत बनेको बताउने गरेका छन् । फुङ्लिङ-७ का स्थानीय राजकुमार गुरूङले आफ्नो चार रोपनी क्षेत्रफल बराबरको जमिनमा किवी खेती लगाएको र सोबाट राम्रो आम्दानी भइरहेको सुनाए । यहाँले कमै, कोदोजस्ता खेती गर्ने बारीमा किवी खेती विस्तार गरेका हुन् ।

६ वर्षअघि व्यावसायिक किवी खेती सुरू गरेका गुरूङले तीन वर्षयता किवी खेतीबाट राम्रो आम्दानी लिँदै आएको बताए । उनले गत वर्ष किवीबाट दुई लाख ५० हजार रूपैयाँ आम्दानी गरेको र यस वर्ष पनि हाल धमाधम किवी बिक्री गर्न सुरू भएकाले राम्रै आम्दानी हुनेमा विश्वस्त रहेको उनले बताए । उनका अनुसार यस वर्ष किवीको बजार मूल्य पनि राम्रो रहेको छ ।

अलैँचीमा विभिन्न रोग तथा मूल्यमा उतारचडाव आइरहने भएकाले अलैँचीको विकल्पमा किवी खेती विस्तार गर्दै गएको उनको भनाइ छ । सोही वडाका लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । तर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गएपछि शुक्रराज लिम्बूले पर्यटकीय क्षेत्रमा किवी खेती विस्तार गरेका छन् ।

उनीजस्तै जिल्लामा धेरै किसानले किवीको व्यावसायिक खेती गर्दै आएका छन् । फुङ्लिङ नगरपालिकाबाहेक सिरिजङ्घा, फक्ताङ्लुङ, सिदिङ्वा, मैवाखोला गाउँपालिकालगायतका क्षेत्रमा स्थानीय किसानले व्यावसायिक किवी खेती लगाएका छन् ।

एक पटक बिरूवा रोपेपछि धेरै वर्षसम्म फल्ने भएकाले किवीबाट राम्रो फाइदा हुने सिरिजङ्घा-५, पेदाङका स्थानीय खेलप्रसाद बुडाक्षेत्रीले बताए । सुरुमा जिल्लामा किवी खेती विस्तार गर्नुपर्छ भनेर विभिन्न किसानलाई प्रेरित गर्दै किवी खेतीका अभियान्ताका रूपमा परिचित बुडाक्षेत्रीले किवी आम्दानीको भरपर्दो र राम्रो स्रोत भएको बताए ।

आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किवी फलका लागि व्यवस्थित बजारको आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘बजार अभावका बावजुद किसानले खेतीमा गरेको लगानीअनुसार निकै राम्रो आम्दानी गरिरहेका छन् ।’

किवीको स्थानीय बजार मूल्य प्रतिकिलोग्राम दुई सय ५० रूपैयाँसम्म रहेको छ । हाल किवीको मौसम सुरू भएसँगै अर्थात् पाक्न थालेपछि धमाधम बिक्री गर्न सुरू गरेको किसानको भनाइ छ ।

सदरमुकाम फुङ्लिङसहित स्थानीय बजारमा किवी बिक्री गर्दै आएका किसानले जिल्लाबाहिर झापा, मोरङ र सुनसरीलगायतका व्यापारीबाट पनि किवीको माग हुन थालेको किसान अमृता गुरूङले बताइन् ।

फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हुँदै गएको छ । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवी खेतीप्रति प्रभावित भएर किवी खेती गर्न थालेका छन् ।

ताप्लेजुङमा सात-आठ वर्षअघिदेखि किसानले किवी खेती सुरू गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिक रूपमा किवी खेती लगाउन सुरू गरेका छन् ।

किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ । गत वर्ष ताप्लेजुङमा सुरूमा प्रतिकिलो छ सय रूपैयाँसम्म खरिदबिक्री भएको किसानहरूको भनाइ छ ।

फक्ताङ्लुङ-४, इखाबुका स्थानीयवासी बुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताए । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उनको भनाइ छ ।

किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत पेय बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्न सक्ने अवस्था रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *