भारतमा सुरूङमा फसेका ४० मजदुरको उद्धार प्रयास जारी
उत्तरी भारतमा एक सयभन्दा बढी उद्धारकर्मीहरूले मंगलबार तेस्रो दिन पनि निर्माणाधीन सडक सुरूङ भत्किएपछि सुरूङभित्र फसेका मजदुरहरूलाई बचाउन संघर्ष गरिरहेका छन् ।
हिमाली राज्य उत्तराखण्डमा एक्स्काभेटरहरूले आइतबार बिहानैदेखि सुरूङभित्र फसेका ४० जना जीवित मजदुरहरूका लागि बाहिर निस्कने अर्को सुरूङ निर्माणका लागि भग्नावशेषहरू पन्छाइरहेका छन् ।
‘हाम्रो सबैभन्दा ठूलो सफलता भनेको हामीले मजदुरहरूसँग सम्पर्क स्थापित गरेका छौं र अक्सिजन र खानाको आपूर्ति सम्भव भएको छ,’ उत्तरकाशी जिल्लाका शीर्ष सरकारी अधिकारी अभिषेक रूहेलाले भने, ‘उनीहरू बाँच्नका लागि जे आवश्यक पर्छ त्यो गरिँदैछ ।’
सुरूङमा अक्सिजन पुर्याउने काम भइरहेको र मजदुरहरूलाई सुक्खा फलफूलजस्ता साना सामग्री उपलब्ध गराइरहेको उनले बताए ।
सुरूङ भत्केलगत्तै सरकारी उद्धार टोलीहरूले जारी गरेको तस्बिरहरूमा फराकिलो सुरूङमा फोहरका थुप्रोहरूले अवरूद्ध बनाएको देखाइएको छ । सुरूङको छतबाट भाँच्चिएका धातुका बारहरू र कंक्रिटका स्ल्याबहरू अगाडि पसेका छन् । टोलीले फसेका मजदुरलाई बाहिर निकाल्ने मार्ग चौडा बनाउन ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिल पाइप चलाउन ठूलो मेसिनको प्रयोग गरिरहेको सरकरी राजमार्ग तथा पूर्वाधार कम्पनीले बताएको छ ।
उत्तरकाशी र यमुनोत्री दुई पवित्र हिन्दू मन्दिरलाई जोड्नका लागि सिल्क्यारा र डन्डालगाउँ सहरबीचको चार दशमलव पाँच किलोमिटर सुरू निर्माण भइरहेको थियो । यो सुरूङ प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एक हिस्सा हो । उक्त परियोजनाको उद्देश्य केही प्रख्यात हिन्दू तीर्थस्थलहरू र चीनसँग सीमा जोडिएका क्षेत्रहरूबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ ।
भारतमा ठूला पूर्वाधार आयोजनामा दुर्घटना हुनुलाई सामान्य मानिन्छ । गत जनवरीमा पारिस्थतिकीयरूपमा कमजोर उत्तराखण्डमा अचानक आएको बाढीमा कम्तीमा दुई सय जनाको मृत्यु भएको थियो । सो बेला विज्ञहरूले आंशिक रूपमा अत्यधिक विकासका कारण यस्तो विपत्ति आएको बताएका थिए ।
प्रतिक्रिया