पूर्वी नवलपरासी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको पनि मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका-२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।
बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका-९, गोरेघुम्तीमा दुर्घटना भएको थियो ।
गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।
योसँगै दुर्घटनामा परी ज्यान जानेको सङ्ख्या सात पुगेको छ । तीन महिला र तीन पुरूषको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए ।
दुर्घटनामा मृत्यु हुनेमा जीप चालक बौदीकाली-६, माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका-४, चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् । मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन ।
उक्त जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।
प्रतिक्रिया