सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेता एवं सांसद बुद्धिमान तामाङले सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताएका छन् । “सङ्घीय संसद्जस्तो गरिमामय ठाउँमा विधायकले चुनावका समयमा जनतालाई दिएका आश्वासन पूरा गर्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ कानुन र नीति–निर्माण गर्ने छ । तर संसद्मा सांसदले उठाएका आवाजलाई सरकारले सुन्दैन । जुन समयमा जो बोले पनि त्यसको कार्यान्वयन हुँदैन । सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन”, उनले भने ।

विशेषगरी सांसदले राष्ट्रको समग्र हितलाई हेरेर समयसापेक्ष आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भए पनि संसद्मा सांसदको नै महत्व थाहा नहुँदा तथा जनताका भावना र विचारको प्रतिनिधित्वको संसद्मा सुनुवाइ हुन नसक्दा सोहीअनुसार भूमिका निर्वाह हुन नसकेको सांसद तामाङको भनाइ छ ।

संसदीय अभ्यासमा सरकारको काम–कारबाहीको मूल्याङ्कन गरी रचनात्मक आलोचना गर्ने, सरकारलाई जनताप्रति उत्तरदायी तुल्याउने, सरकारका कमी–कमजोरीको आलोचना गरी सरकारका काम–कारबाहीको प्रभावकारिता अभिवृद्धिका लागि लोकतान्त्रिक सरकारको सहयोगी भूमिका निर्वाहबाट निरङ्कुश र स्वेच्छाचारी हुनबाट सरकारलाई रोक्ने, सरकारका काम–कारबाहीउपर निगरानी राख्नेलगायतका भूमिका प्रतिपक्षको हुने उनले बताए ।

रापप्रा संसदीय दलको उपनेतासमेत रहेका तामाङ संसदीय अभ्यासलाई मजबुत बनाउन प्रतिपक्षको आवाजलाई सम्बोधन गर्न सरकार तत्पर रहनुपर्ने बताउँछन् । “बहुदलीय व्यवस्थामा मुख्यतः संसद् प्रतिपक्षको हो । सरकारले नदेखेका, गलत गरेका विषयमाथि झक्झक्याउने, सरकारलाई सही मार्गदर्शनमा हिँडाउन प्रतिपक्ष तत्पर छ तर प्रतिपक्षको आवाज सुन्न सरकार तत्पर छैन”, सांसद तामाङले भने ।

पञ्चायतकालदेखि राजनीतिक अनुभव लिएका सांसद तामाङ अहिलेको जस्तो फिक्का अधिवेशन कहिल्यै नभएको जिकिर गर्छन । गरिमामय संसद्लाई मर्यादित र अनुशासित बनाउन संसदीय भाषालाई हरेक सांसदले अनुसरण गर्नुपर्ने उनको धारणा छ । सांसदले सरकारप्रति आरोप लगाउनु संसदीय अभ्यासमा स्वभाविक रहेको तर सोही आरोप ठीक वा बेठिक भन्नेमा सरकार र जनता दुवैले छुट्याउन सक्नुपर्नेमा सांसद तामाङको भनाइ छ ।

पछिल्लो समय भड्किलो चुनावी प्रसार–प्रचारलगायतका कुप्रचार प्रवृत्तिका कारण जनताको सेवामा समर्पित सामान्य नागरिक चुनाव लड्न नसक्ने वातावरण सिर्जना हुँदै गएको सांसद तामाङले बताए । “पैसाले टिकट, पद किन्ने परिस्थिति निर्माण हुँदै गएको छ । यस्ता गलत प्रवित्त नै मुलुकमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण बनेको छ । सिधासाधा व्यक्तिलाई त चुनाव लड्ने वातावरण नै छैन”, उनले भने ।

मुलुकुको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय हितअनुकूल कार्य गर्न समयमै सबै मिलेर सल्लाह र सहमतिमा वर्तमान चुनावी प्रक्रियामा सुधार गर्नुपर्नेमा सांसद तामाङ जोड दिन्छन् । “समयैमा सबै मिलेर सल्लाह र सहमतिमा अहिलेको चुनावी प्रक्रियालाई परिर्वतन गर्नुपर्छ । अहिले मुलुकको अवस्था विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ”, सांसद तामाङले भने । पञ्चायकालदेखि हालसम्म उनी छ पटक चुनाव लडेकामा चारपटक निर्वाचित भए । तामाङ हाल प्रतिनिधिसभामा समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर