१०० रूपैयाँ किलोमा वितरण हुन थाल्यो चिनी

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक सय रूपैयाँ किलोमा चिनी बिक्री सुरू गरेको छ ।

साल्टट्रेडिङबाट खरिद गरेको चिनी प्रतिउपभोक्ता २ किलोका दरले एक सय रूपैयाँ किलोमा बिक्री सुरू गरिएको खाद्य व्यवस्था विभागले जनाएको छ । कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले थापाथली केन्द्रमा चिनी उपलब्ध भएको बताएकी हुन् ।

यसैबीच साल्टट्रेडिङ कर्पाेरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पाेरेशनले गत मङ्गलबारदेखि उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्‍याएको हो ।

प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ । कर्पाेरेशनका व्यवस्थापक ब्रजेश झाका अनुसार हालसम्म चार सय ५० भन्दा बढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पाेरेशनबाट लगिसकेका छन् ।

उनले भने, ‘काठमाडौँ उपत्यकासहित अन्यत्रका खुद्रा किराना पसलेले कर्पाेरेशनबाट चिनी लिन सक्छन् ।’ उनका अनुसार सरकारले नै निर्धारण गरिदिएको प्रतिकेजी एकसय १२ रूपैयाँ ५० पैसामा खुद्रा बिक्री कर्तालाई चिनी बिक्री गरेको हो ।

कर्पाेरेशनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी ९७ रूपैयाँमा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । सरकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी नै कर्पाेरेशनले सहुलियत दरमा बिक्रीवितरण गरिराखेको हो ।

दसैँ, तिहार, छठजस्ता मुख्य चाडबाडमा देशभर ३५ हजार मेक्ट्रिकटन चिनी खपत हुने गरेको आँकडा छ । तर सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा आम उपभोक्ताले सधैँ चिनीको समस्या भोग्दै आउने गरेका छन् ।

सरकारले कर्पाेरेशनलाई भारतसँग जीटुजीमार्फत १० हजार मेक्ट्रिकटन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो । तर भारत सरकारले केही महिनाअगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ ।

कर्पाेरेशनले चिनी बिक्रीवितरणलाई सहज बनाउन उच्च प्राथमिकता दिएको व्यवस्थापक झाले बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर