नेपालको जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय व्यवसायीलाई राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामाचन्द्र पौडेलले नेपालको जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय र उद्यमी व्यवसायीलाई आग्रह गरेका छन् । नेपालको जलविद्युतमा लगानी गर्न चाहनेका लागि महत्त्वपूर्ण अवसर रहेको राष्ट्रपति पौडेलले बताए ।

आजदेखि काठमाडौंमा सुरू भएको ‘एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन’ को ३७ औं सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायलाई ऊर्जा उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

पौडेलले भने, ‘नेपालमा लगानीको अवसरहरू बढ्दै गएका छन् । लगानी सहज बनाउने कानुनहरू निर्माण भइसकेका छन् । अब भारत र बंगलादेश नेपाली विद्युतको बजार बन्दैछ । विद्युत व्यापारका क्षेत्रमा पिछल्लो समय भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्त्वपूर्ण अवसर खोलेको छ । नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न म सबैलाई आह्वान गर्दछु ।’

साथै उनले नेपालको पर्यटन, कृषि, सूचना प्रविधिलगायतका क्षेत्र पनि लगानीको प्रचुर सम्भावना भएको क्षेत्र रहेको भन्दै उक्त क्षेत्रमा लगानी बढाउन लगानीकर्तालाई आग्रह गरे ।

‘प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ । यसमा आज हुने लगानीले भोलि प्रतिफल दिनेछ । सूचजा प्रविधि, उत्पादनमूलक उद्योग, कृषिजन्य उद्योग नेपालमा लागानीयोग्य सम्भावना भएका अन्य क्षेत्र हुन् । यी क्षेत्रमा लगानी बढाउन सबैलाई भविष्यलाई दिगो, नवीन र समृद्ध आकार दिन उद्योग वाणिज्य र निजी क्षेत्रको शक्ति प्रयोग गर्न आग्रह गर्दछु,’ पौडेलले भने ।

काठमाडौंमा आजदेखि सुरू भएको सम्मेलन भोलिसम्म चल्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *