खसीको भनेर बाख्राको मासु बेच्ने पक्राउ
१७ कार्तिक २०८० १८:४३
धनुषामा खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४, महेन्द्रनगरका गुल्जार महम्मद रहेका छन् ।
इलाका प्रहरी कार्यालय धनुषाबाट खटिएको गस्ती टोलीले महम्मदले महेन्द्रनगरमा सञ्चालन गर्दै आएको साहिल फ्रेस हाउस मासु पसलको अगाडि खसीको मासुको सानो टुक्रासँगै छालाबिनाको बाख्राको मासु बिक्री गरिरहेको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिइएको जनाएको छ ।
सो मासु पसलबाट आठ किलो बाख्राको मासु बरामद भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
पक्राउ परेका मासु पसल सञ्चालक महम्मदलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा राखी थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।
प्रतिक्रिया