बंगलादेशकी साइमा वाजेद बनिन् डब्ल्यूएचओको दक्षिणपूर्वी एशिया क्षेत्रीय निर्देशक

११ देश सम्मिलित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद चयन भएकी छन्।

बुधबार भारतको नयाँदिल्लीमा बसेको संगठनको क्षेत्रीय कमिटीको ७६ औं बैठकले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमालाई उक्त पदमा चयन गरेको हो।

मतदानमा बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, श्रीलंका, थाइल्याण्ड र टिमोर-लेस्टेले भाग लिएका थिए। म्यानमार भने बैठकमा सहभागी भएन।

साइमाले आठ मत प्राप्त गरेकी बंगलादेशका परराष्ट्र राज्यमन्त्री सहरयार आलमले जानकारी दिए। अर्का उम्मेदवार नेपालका डा. शम्भुप्रसाद आचार्यले दुई मत प्राप्त गरे।

साइमा वाजेद मानसिक स्वास्थ्य विशेषज्ञको भूमिकाका लागि विश्वव्यापी रूपमा प्रसिद्ध छिन्। उनी मानसिक स्वास्थ्यका लागि डब्ल्यूएचओका महानिर्देशकको सल्लाहकार हुन्।

उनको नाम अब डब्ल्यूएचओ कार्यकारी बोर्डको १५४ औं सत्रद्वारा नियुक्तिका लागि पेस गरिनेछ, जुन जनवरी २२-२७, २०२४ मा जेनेभा, स्विटजरल्याण्डमा हुनेछ।

त्यसपछि उनले फेब्रुअरी १ मा पाँच वर्षको कार्यकालका लागि पदभार ग्रहण गर्नेछिन् र एक पटक पुनः नियुक्तिका लागि योग्य हुनेछिन्।

यससँगै साइमा वाजेद डब्ल्यूएचओको क्षेत्रीय डिभिजनको भागको रूपमा १९४८ मा सिर्जना गरिएको पदमा बस्ने पहिलो बंगलादेशी हुनेछिन्।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *