‘इजरायलमै मर्छौं भन्ने लागेपछि परिवारलाई जानकारी होस् भनेर फेसबुकमा भिडियो हालेका थियौं’

इजरायल-हमास द्वन्द्वमा फसेका २५४ जना नेपालीको सरकारले आज बिहान सबेरै उद्धार गरी सुरक्षित नेपाल ल्याएको छ।

द्वन्द्वबाट बच्न बंकरमा लुकेर बसेका एक विद्यार्थीको समूहले उनीहरूको तत्काल उद्धार नहुने स्थिति देखेपछि इजरायल द्वन्द्वमा परी मर्नुभन्दा पहिला परिवारलाई सूचना दिने भनेर सामाजिक सञ्जालबाट आफूले भिडियो बनाएर फेसबुकमार्फत पोष्ट गरेको विद्यार्थी लुइस रिजालले बताएका छन्। उक्त भिडियोलाई नेपाल सरकारसम्म पुग्न केही क्षण पनि लागेन।

इजरायलमा फसेका अन्य देशका नागरिकलाई उनीहरूको सरकारले उद्दार गरी लगे पनि नेपालबाट त्यतिन्जेल (झण्डै ४८ घण्टा) सम्म कुनै पनि पहल नगरेको अवस्थामा आफूहरू त्यहीँ मर्ने स्थिति आएको र मर्नुभन्दा पहिला घरपरिवारलाई जानकारी गराउन विषम परिस्थितिमा त्यहाँको अवस्थाबारे आफूले भिडियो बनाएर फेसबुकमार्फत पोष्ट गरेको लुइसको भनाइ छ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि खुसी हुँदै उनले भने, ‘सबै देशबाट आफ्ना नागरिकलाई उद्धार गर्न पहल गरिसकेका थिए। त्यो समयमा हाम्रो देशबाट केही पहल भएको थिएन। हामीलाई लाग्यो, यहीँ मर्ने नै हो तर त्योभन्दा पहिला नेपालमा रहेका आफ्ना परिवारको लागि सोचेर एउटा इभेन्ट चलाऔं भनेर फेसबुकमा भिडियो बनाएर हाल्यौं। ढिलो भए पनि हाम्रा कुरा सुनिदिनुभयो।’

उनले इजरायल द्वन्द्वमा सम्पर्कविहीन आफ्ना साथी विपीन जोशीलाई छिटो खोजिदिन सबैलाई आग्रह गरेका छन्। हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको छ। उनीहरूको शवलाई सरकारले नेपाल ल्याउने प्रयास गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *