इजरायलमा रहेका नेपाली लिन आज नेपाल एयरलाइन्सको विमान जाँदै

सरकारले प्यालेस्टिनी लडाकु समूह हमाससँगको लडाइँमा रहेको मुलुक इजरालयमा रहेका नेपालीलाई स्वदेश फिर्ताका लागि आज नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज पठाउने भएको छ।

परराष्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीका अनुसार आज राति ११ बजे जहाज इजरायल उड्ने छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

इजरायलकाे अवस्था सामान्य नभएकाले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ। सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ।

इजरायलबाट नेपाल फर्कन चाहने नेपालीको लगत संकलन परराष्ट्र मन्त्रालयार्फत् भइरहेको छ।

शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलका विभिन्न स्थानमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु हुनुका साथै ४ जना घाइते भएका थिए। यस्तै विद्रोही समूहको आक्रमणबाट एक नेपाली बेपत्ता छन्।

इजरायलमा ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान संकायमा अध्ययनका लागि गएका ४९ विद्यार्थी हमासले गरेको आक्रमण क्षेत्रमा फसेका थिए। जसमध्ये ३२ जनालाई इजरायली सेनाले उद्धार गरेर तेल अविवमा राखेको छ।

यस्तै ४ हजार ५०० नेपाली इजरायलमा केयरगिभरकाे रूपमा कार्यरत छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *