जनकपुर बिग मार्टमा आगलागी हुँदा १० करोड बढीको क्षति

रामबाबुको २५ वर्षको लगानी क्षणभरमै खरानी

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको रामबाबु रायको ‘जनकपुर बिग मार्ट’ मा गएराति भीषण् आगलागी भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घण्टापछि बिहान करिब ७:१५ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । आगलागी भएको करिब आधा घण्टामै बारुणयन्त्र घटनास्थलमा पुगे पनि मार्टमा लुगाकपडा धेरै भएकाले नियन्त्रणमा लिन कठीन भएको थियो ।

सञ्चालक रामबाबु रायले मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको र तीन तले घरमा समेत क्षति पुगेकाले १० करोड रूपैयाँभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिए । उनले मार्टको दोस्रो तल्लामा परिवारसहित बसोबास रहेकामा वैकल्पिक बाटोका कारण भागेर ज्यान जोगाउन सकिएको बताए ।

‘क्षणभरमै जल्यो सम्पत्ति’

सर्लाहीको मलङ्गवा नगरपालिका-११ स्थायी ठेगाना भएका राय विगत २५ वर्षदेखि व्यापारिक कारोबारमा संलग्न छन् । सुरूमा उनले काठमाडौँमा ‘डोर टु डो’ अर्थात घरघरमा गएर सामान बेच्ने काम गरे र पछि अरूकै पसलमा बजार व्यवस्थाकका रूपमा काम गरे ।

सर्लाहीबाट झोला भिरेर काठमाडौँ छिरेका रायले केही समय अरूको पसलमा काम गर्न सिकेपछि आफ्नै व्यापार सुरू गरे । ‘म शून्य लगानीबाट उठेको मान्छे हो । सुरुमा काठमाडौँका घरघरमा गएर सामान बेचेँ । त्यसपछि काठमाडौँबाहिर जिल्ला जिल्लामा गएँ । त्यसबाट केही पैसा आर्जन गरेपछि सानो पसल, होलसेल, रिटेल र डिपार्टमेन्ट स्टोरसम्म पुगेँ,’ भावविह्वल हुँदै रायले भने, ‘तर २५ वर्षसम्म गरेको मेहनत र लगानी एकै रातमा सखाप भयो । झोला बोकेर घरबाट निस्केको थिएँ, अहिले फेरि झोला मात्रै बोकर सडकमा आएँ ।’

व्यापारमा संलग्न भएको २५ वर्षमध्ये करिब १५/१६ वर्ष उनले काठमाडौँको न्यूरोडस्थित रञ्जना हाउस र महाबौधबाट व्यापार गर्नुभयो । तर विसं २०७२ को गोर्खा भूकम्पपछि व्यापारमा मन्दी भएपछि जनकपुर झरेका रायले यहाँ रामानन्द चोक नजिकै कपडा व्यापार सुरू गरे । छोटो समयमा व्यापार राम्रो हुँदै गएपछि आफ्ना सबै व्यापार बन्द गरेर रायले सम्पूर्ण लगानी हाल डिपार्टमेन्ट स्टोरसमेत रहेको घरमा लगानी गरे ।

‘म एकै पटक ठूलो लगानी गरेर आएको होइन । स-सानो व्यापारबाट ठूलो, त्यसैबाट कमाएको पैसाले ‘लज’ चलाइरहेको थिएँ तर भूकम्पपछि कारोबारमा गिरावट आएपछि जनकपुर आएको हुँ । यहाँ आएपछि अरू सबै व्यापार छाडेँ । भएको सम्पत्ति बेचेर करिब तीन करोडमा यही घर र व्यापारमा लगानी गरेँ तर एकरातमा सबै सखाप भयो,’ रायले भने । रायले यही व्यापारलाई बढाउन काठमाडौँको थानकोटमा रहेको चार आना जग्गा, लज र अरू सबै जायजेथा बेच्नुका साथै सिद्धार्थ बैंक शाखा जनकपुरबाट तीन करोड ६५ लाख रूपैयाँ ऋण (लोन) लिएको बताए ।

‘पीडामाथि पीडा’
रायलाई व्यापारमा हिम्मत गर्न सघाउने उनकी श्रीमती थिइन् । उनले बाहिर र श्रीमतीले पसल सम्हाल्ने काम गरिरहेका थिए । ‘घरबार राम्रै चलिरहेको थियो, श्रीमतीले यो सबै हिम्मत दिएकी हुन् तर डेढ वर्षअघि अचानक श्रीमतीको दुई वटै किड्नी फेल भयो । त्यसपछि हाम्रो दुःखका दिन सुरु भए । आठ दिनअघि मात्रै श्रीमतीको उपचार भएको थियो । अब त केही सहज होला भनेको फेरि यो बज्रपात आइलाग्यो,’ रायले आफ्नो पीडा सुनाए ।

जनकपुरमा केही वर्षदेखि सबै क्षेत्रका व्यापारमा मन्दी छ । त्यसको असर रायले पनि भागे । सडक विस्तार, आन्दोलन, कोरोना र आर्थिक मन्दिले समस्या भोगेका उनी दसैँ आएपछि केही भए पनि राहत होला भन्ने आशामा थिए । त्यसैलाई मध्यनजर गरी केही दिनअघि मात्रै नयाँ सामान ल्याएका थिए ।

‘समस्या थियो तर पनि हिम्मत हारेको थिइन । राम्रा दिन आउने आशामा बसिरहेको थिएँ । दसैँ तिहारले केही राहत होला भनेर ऋण गरेर सामान थपे तर अब त उठ्नै नसक्ने गरी सम्पत्ति र सबै सपना खरानी भए,’ गम्छाले टिलपिलाएका आँसु पुछ्दै रायले भने, ‘भगवान् ! पीडामाथि पीडा किन दिएको ? अब के गरेर खानु ? कसरी ऋण तिर्नु कुनै विकल्प रहेन मसँग ।’

सबैभन्दा दुःखको कुरा त रायले बैंकबाट ऋण लिँदा गरिने बीमाबाहेक सामानको बीमासमेत गरेका छैनन् ।

‘जायजेथा बेचेर लगानी बढाएँ । २५ वर्ष पसिना बगाएँ । काठमाडौँबाट भूकम्पले विस्थापित गर्‍याे, फेरि उठ्न खोज्दै थिएँ । जनकपुरले त उठिबास् नै लगायो, अब कहाँ जाने, कसरी उठ्ने,’ रायले निराशा पोखे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर