चाडपर्वका अवसरमा लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरूको महान चाड दशैं, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ।

आइतबारदेखि लागू भएको यो अफरमा साविक टिकट दरमा शनिबारबाहेक अन्य दिनहरूमा ४० प्रतिशत छुट दिइएको छ। यो अफरअनुसार अब शनिबारबाहेक अन्य दिनहरूको टिकट दर ४५० रूपैयाँ मात्र कायम भएको छ।

नेपालीहरूका महान चाडपर्वका अवसरमा आम सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए।

टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने अपरेसन म्यानेजर सैंजूले जानकारी दिए।

चाडपर्वमा आम सर्वसाधारणलाई परिवारसहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफरजस्तै सफल हुने कम्पनीले विश्वास लिएको छ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको कुल ५ अर्ब रूपैयाँ लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो। बुटवलको बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेसन रहेको २.६ किलोमिटर दूरीको केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ।

टप स्टेसनमा कम्पनीले ४० लाख लागतमा जीपलाइन सञ्चालनमा ल्याइसकेको छ भने छिट्टै डेढ करोड रूपैयाँ बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउँदै छ।

कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न सहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने गरेका छन्। केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरी सम्झौता भएको छ। उक्त रकम दुई पालिकाले ५०-५० प्रतिशतका दरले बाँडफाट गर्ने गरी सम्झौता भएको छ।

टप स्टेसनमा साढे ३ अर्ब रूपैयाँ लागतमा २ वर्षभित्र १ सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनोसहित पाँचतारे होटल बनाउने तयारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर