हमासको रकेट आक्रमणबाट मेयरसहित २२ इजरायलीको मृत्यु, साढे पाँच सय घाइते
इजरायलका प्रधानमन्त्रीले भने- हामी युद्धमा छौं
प्यालेस्टाइनको इस्लामिक लडाकु समूह हमासले गरेको रकेट आक्रमणबाट कम्तीमा २२ जना इजरायली मारिएका छन्। यस्तै ५४५ जना घाइते भएको इजरायलको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
यस आक्रमणमा इजरायलको शार हानेगेभ क्षेत्रीय काउन्सिलका प्रमुख (मेयर) ओफिर लिब्स्टेनको पनि मृत्यु भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले बताएको छ।
‘आतंकवादीको आक्रमणको बेला सहरको रक्षा गर्न गएका ओफिर मारिए,’ काउन्सिलको विज्ञप्तिलाई उद्धृत गर्दै समाचारमा भनिएको छ। उनको मृत्युपछि काउन्सिलका उपप्रमुख योसी केरेनलाई अन्तरिम प्रमुख बनाइएको छ।
हमासका दर्जनौं बन्दुकधारीहरू गाजा पट्टीबाट दक्षिणी इजरायल प्रवेश गरेपछि दुई देशबीच तनाव बढेको छ।
हमासका नेता मोहम्मद डेफले अति भनेको अति नै हुन्छ भनेर इजरालयमाथि आक्रमणको निर्णयमा आफूहरू पुगेको बताएका छन्।
शनिवार बिहान इजरायलतर्फ पाँच हजारवटा रकेट प्रहार गरिएको उनले बताएका छन्। त्यसलाई उनले ‘अपरेशन अल–अक्सा स्टर्म’ भनेका छन्।
इजरायली प्रतिरक्षा बल (आईडीएफ) ले गाजाबाट इजरायली भूमिमा धेरै आतंककारीहरू घुसेको बताएको छ।
मध्य तथा दक्षिण इजराइलमा शनिबार बिहान साढे तीन घण्टासम्म व्यापक रकेट हमला भएको थियो। यसबाहेक हमासले पाँच जना आईडीएफका सैनिकलाई अपहरण गरेको दाबी गरेको जेरूसेलम पोष्टले बताएको छ। आईडीएफले भने त्यसको पुष्टि गरेको छैन।
हमासको आक्रमणपछि आईडीएफले पनि जवाफी हमला गरेको छ। इजरायली सेनाले आफूहरू युद्धका लागि तयार रहेको बताएको छ।
इजरायली मिडियाका अनुसार दक्षिणी इजरायलका विभिन्न स्थानहरूमा इजरायली र प्यालेस्टिनी सेनाहरूबीच गोलाबारी अझै जारी छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक भिडियो बयान जारी गर्दै आफूहरू युद्धमा रहेको बताएका छन्।
इजरायलका रक्षामन्त्री योभ ग्यालान्टले हमासले गम्भीर गल्ती गरेको भन्दै यो युद्ध इजरायलले जित्ने बताएका छन्।
इजरायल-प्यालेस्टाइन क्षेत्रमा इजरायली सेना र प्यालेस्टिनी लडाकु समूहबीच दशकौंदेखि तनाव छ।
प्रतिक्रिया