अब्बल तीन संस्थाको कमाण्डमा उपासना, समता र संगीता

नेपालका तीन अब्बल बीमा, बैंक र दूरसञ्चार कम्पनीको नेतृत्व महिलाले पाएका छन्।

हिमालयन रि-इन्स्योरेन्सको कार्यकारी अधिकृतमा उपासना पौडेल, नेपाल बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएका छन्।

सम्बन्धित संस्थाका सञ्चालक समितिले उनीहरूलाई सो जिम्मेवारी दिएका हुन्।

तीनवटै संस्थाको नेतृत्वमा अब्बल महिला

उपासना पौडेल : १० अर्ब रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनी हिमालयन रि-इन्स्योरेन्सको सीईओमा ३७ वर्षीया उपासना पौडेल नियुक्त भएकी छन्।

प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरण राममूर्तिले राजीनामा दिएपछि डेपुटी सीईओका रूपमा १० महिनाअघि कम्पनीमा भित्रिएकी पौडेललाई सञ्चालक समितिले नेतृत्व सुम्पेको हो। उपासनालाई सीईओमा नियुक्त गर्ने कम्पनीको प्रस्तावमा बीमा प्राधिकरणले स्वीकृति दिइसकेको छ।

कम्पनी सञ्चालनमा आएपछि नै सीईओ तथा डेपुटी सीईओसहितका व्यवस्थापनका मुख्य पदहरूमा भारतीय प्रोफेसनलहरूलाई नियुक्त गरिँदै आएकोमा यसपटक नेपाली महिला उपासनाले सो जिम्मेवारी पाएकी छन्।

नेपाल सरकारको समेत लगानीमा स्थापना भएको नेपाल रि-इन्स्योरेन्सपछि पुनर्बीमा क्षेत्रमा निजी लगानीमा पहिलो पटक हिमालयन रि-इन्स्योरेन्स सञ्चालनमा आएको थियो। १० अर्ब चुक्ता पुँजीको कम्पनीले तीन अर्ब रूपैयाँ प्राथमिक निष्कासन (आईपीओ) मार्फत जुटाउँदै छ। कम्पनीमा नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरूको लगानी छ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा हुन्। पुनर्बीमाजस्तो चुनौतीपूर्ण काम गर्नुपर्ने ठूलो कम्पनीको व्यवस्थापकीय नेतृत्व नेपालीले गर्न सक्छन् भन्ने विश्वाससहित उपासनालाई समितिले सो जिम्मेवारी प्रदान गरेको हो।

हिमालयन रिमा डेपुटी सीईओका रूपमा भित्रनुअघि उनी युनाइटेड इन्स्योरेन्स कम्पनीकी सीईओ थिइन्। उनी सम्भवतः नेपालका बैंक तथा बीमा कम्पनीहरूमा सबैभन्दा कम उमेरकी सीईओ हुन्।

३४ वर्षमा युनाइटेड इन्स्योरेन्सको सीईओ हुँदा पनि उनी सबैभन्दा कम उमेरकै थिइन्। यसका साथै नेपाली बीमा क्षेत्रको पहिलो महिला सीईओ पनि उनी नै हुन्।

भारतमा उच्चशिक्षा हासिल गरेकी उपासनाले बीमा करिअरको सुरूवात पनि त्यहीँबाट गरेकी हुन्। उनले भारतको भारती एएक्सए जनरल इन्स्योरेन्समा सिनियर हेडका रूपमा काम गरेकी थिइन्। त्यस्तै आईसीआईसीआई लम्बर्ड जनरल इन्स्योरेन्स कम्पनीमा पनि उनले सिनियर मार्केटिङ म्यानेजरको रूपमा काम गरिन्। त्यसबीचमा उनले टेलिकम कम्पनी भोडाफोनमा सिनियर म्यानेजरका रूपमा तीन वर्ष भूमिका निर्वाह गरिन्।

नेपालमा उनले सानिमा जनरल इन्स्योरेन्समा असिस्टेन्ट जनरल म्यानेजरको रूपमा करियर सुरू गरेकी थिइन्। सानिमामा २०१८ अगस्टदेखि २०१९ अक्टोबरसम्म काम गरेपछि उनी युनाइटेडमा जोडिएकी थिइन्।

समता पन्त : नेपाल बैंक लिमिटेडको सञ्चालक समितिले बैंककी नायब कार्यकारी अधिकृत समता पन्तलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नियुक्त गरेको छ।

बैंक सञ्चालक समितिको गत आइतबारको निर्णयअनुसार पन्तलाई असोज १५ गतेदेखि लागू हुने गरी कामु सीईओमा नियुक्त गरिएको हो।

बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते सकिएपछि पन्तलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी दिइएको हो।

एमबीएसम्मको अध्ययन गरेकी पन्तले २ दशक बढी बैंकको विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी छन्।

संगीता पहाडी : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीकी नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन् ।

बुधबार दूरसञ्चारले विज्ञप्ति जारी गर्दै पहाडीलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको जनाएको थियो।

उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी छन्।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन्।

उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन्। २०५१ फागुन १० गते उनले स्थायी नियुक्ति लिएकी थिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर