बचतकर्ताको साढे चार करोड रकम हिनामिना गरेको आरोपमा देउराली सहकारीका अध्यक्ष पक्राउ

बचतकर्ताहरूको करिब साढे चार करोड रूपैयाँ रकम हिनामिना गरेको आरोपमा देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन्।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-६ घर भएका ३९ वर्षीय चौलागाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार पक्राउ गरेको हो।

सीआईबीका अनुसार सहकारीका सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरूलाई आर्कषक ब्याजदर दिने प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँब्याज फिर्ता पाउने विश्वासमा पारेका थिए।

उक्त संस्थामा बचतकर्ताहरूले जम्मा गरेको रकमको साँवाब्याज पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएकाले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरूलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनुपर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराउन पहल नगरेको सीआईबीले जनाएको छ।

सहकारी अध्यक्ष चौलागाईंले हालसम्म प्राप्त जाहेरीअनुसार बचतकर्ताको ४ करोड ४९ लाख ९९ हजार ४४३ रूपैयाँ रकम अपचलन तथा हिनामिना गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

पक्राउ परेका चौलागाईंविरूद्ध थप अनुसन्धान भइरहेको जनाउँदै सीआईबीले उक्त सहकारीबाट पीडित निक्षेपकर्ताहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *