नयाँबसपार्कस्थित ‘द बर्गर हाउस’ मा युवकलाई बन्धक बनाएर राखेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ महानगरपालिका-२६, गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एक जना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका बौद्ध बस्ने अन्दाजी ३६ वर्षीय आशालाल लामा तथा काभ्रे रोशी गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौँ सामाखुशी बस्ने अन्दाजी ३३ वर्षीय भोज लामा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार काभ्रेको तेमाल-७ स्थायी घर भई हाल भक्तपुर राधेराधे बस्ने अन्दाजी २५ वर्षीय देवसिंह लामालाई काठमाडौँ महानगरपालका-२६, गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा अपहरण तथा बन्धक बनाइराखेको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’ बाट प्रहरी निरीक्षक राजन ढकाल नेतृत्वको सात जनाको टोलीले देवसिंह लामालाई अपहरणमुक्त गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए । आरोपितहरूविरूद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *