धादिङमा ट्युसन पढ्न जाँदै गरेका दुई बालकको ट्रकको ठक्करबाट मृत्यु

धादिङको गजुरी गाउँपालिका-२, मलेखुस्थित मजुवामा आज बिहान ट्रकको ठक्करबाट दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा विद्यालय जान लागेका सिद्धलेक गाउँपालिका-६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १५ सञ्जीव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सन्तु जैसवालले जानकारी दिए।

उनीहरू दुवै ट्युसन पढ्न जान लागेका र बाटो काट्ने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२-००१ ख ६४१३ नम्बरको ट्रकले आज बिहान मलेखुस्थित मजुवामा दुवै जनालाई ठक्कर दिएको थियो। मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन्।

ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका-२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। डीएसपी जैसवालका अनुसार मृतक बालकका आफन्त र स्थानीयले विरोध गरिरहेकाले शव बुझेका छैनन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर