सशस्त्र प्रहरी परिवार महिला संघको २२ औं वार्षिक साधारणसभा सम्पन्न 

सशस्त्र प्रहरी परिवार महिला संघको २२ औं वार्षिक साधारणसभा सोमबार विविध विषयमा छलफलका साथ सम्पन्न भएको छ ।
सो संघकी अध्यक्ष अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संघको वार्षिक आय-व्यय विवरणसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा लामो समयदेखि संघको कार्यसमितिमा रही विशेष योगदान दिएका पदाधिकारीहरूलाई संघकी अध्यक्ष अनिता लामिछाने अर्यालले उनीहरूको योगदानको कदरस्वरूप खादा तथा दोसल्ला ओढाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरेकी थिइन्।
सो अवसरमा संघकी सदस्यसचिव तुलामाया ठाडामगरले संघको वार्षिक कार्यप्रगति विवरण तथा संघकी कोषाध्यक्ष पूजा राजभण्डारीले आर्थिक वर्ष २०७९/०८० को आय-व्यय विवरण प्रस्तुत गरेका थिए।
संघको लक्षित उद्देश्य र समाज सेवाको क्षेत्रमा संघबाट भइरहेका उपलब्धिलगायत विविध विषयमा सो साधारणसभामा छलफल भएको थियो।
संघले शिक्षा, स्वास्थ्य, सरसफाइका क्षेत्रहरूमा योगदान पुर्‍याउनुका साथै सेवामूलक एवं जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नेदेखि विपद प्रकोपमा पीडितहरूलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरूलाई निःशुल्क आवासीय सुविधासहितको अध्ययनको व्यवस्थालगायत अन्य विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
सोही अवसरमा संघकी अध्यक्ष अनिता लामिछाने अर्यालले सशस्त्र प्रहरी परिवार महिला संघले सञ्चालन गरेको आधारभूत सिलाइकटाइ तालिम समापन गर्नुका साथै तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरेकी थिइन्।
त्यस्तै संघले यही असोज १० देखि १४ गतेसम्म संघका पदाधिकारीहरूका लागि सञ्चालन गरेको उद्घोषण तालिमका प्रशिक्षकलाई समेत संघकी अध्यक्ष अनिता लामिछाने अर्यालले मायाको चिनो प्रदान गरेकी थिइन्।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी तथा राष्ट्रसेक सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *