दोलखामा डीएसपी दीपकको कमाण्डपछि ११ किलो सुन बरामद

प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काले जिल्ला प्रहरी कार्यालय, दोलखाको नेतृत्व गरेयता चीनबाट हुने सुन तस्करी नियन्त्रणमा प्रगति देखिएको छ।

उनको कमाण्डमा रहेको दोलखा प्रहरीले पछिल्लो पाँच दिनमा तस्करीको ११ किलो सुन बरामद तथा तस्करीमा संलग्न आरोपमा ७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू एकै ठेगना भएकाहरू हुन्।

जिल्ला तथा मातहतका प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोली साथै उनीहरूको सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तस्करीको सुन बरामद तथा तस्करीमा संलग्न आरोपीलाई पक्राउ गरेका हुन्।

दोलखाबाट आइतबार मात्रै तस्करीको थप ४ किलो सुन बरामद भएको छ।

चिनियाँ नाकाबाट तस्करी गरेर ल्याई विगु गाउँपालिका-१, लामाबगरमा बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा आइतबार दिउँसो ४ किलो सुन बरामद भएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सो सुन बरामद गरेको हो।

उक्त सुन तस्करी गर्ने व्यक्ति फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले गत बुधबार ४ किलो र शुक्रबार ३ किलो सुन बरामद गरेको थियो। यसअघि पक्राउ परेकाहरूमाथि अनुसन्धानका क्रममा तस्करीको थप सुन बरामद भएको हो।

यअसघि विगु गाउपालिका-३, जामुनेबाट प्रहरीले चीनबाट अवैध रूपमा ल्याएर लुकाएको सुन बुधबार ४ किलो र शुक्रबार ३ किलो बरामद गरेको थियो।

सुन तस्करी आरोपमा हालसम्म विगु गाउँपालिका-१, लामाबगरका ३० वर्षीय चसमान तामाङ, २७ वर्षीय राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ पक्राउ परेका छन्।

पक्राउ परेकाहरूविरूद्ध भन्सार ऐन, २०६४ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत दोलखा जिल्ला अदालतबाट  म्याद थप गरेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

चिनियाँ नाका रोङजियाबाट लामाबगर हुँदै पैदलमार्गबाट सुन तस्करी भइरहेको पाइएपछि दोलखा प्रहरीले सो क्षेत्रमा निगरानी बढाएको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर