फेरि कुटिए डाक्टर, दुई जना पक्राउ

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा करिब एक साता आन्दोलित चिकित्सक र सरकारबीच सहमति भएको केही घण्टाभित्रै फेरि पनि चिकित्सक कुटिएका छन्।

काठमाडौंको सिनामंगलस्थित काठमाडौैं मेडिकल कलेज (केएमसी) का चिकित्सकमाथि कुटपिट भएको हो।

कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले गुल्मी घर भएका दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गुल्मी घर भई काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतमलाई पक्राउ गरेको हो।

आइतबार सबेरै बिहान १ बजेतिर काठमाडौं मेडिकल कलेजका चिकित्सक डा. मनिष खड्कासहितका स्वास्थ्कर्मीलाई उनीहरूले कुटपिट गरेको आरोप छ।

काठमाडौं मेडिकल कलेजमा पुगेका बिरामीका आफन्तद्वयले चिकित्सकसहित ४ जना स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोप छ।

मेडिकल कलेजको नेफ्रो विभागको ओपीडी डा. खड्कासहित इन्टर्नमा रहेका स्वास्थ्यकर्मी कुटिएपछि त्यहाँका कर्मचारी आन्दोलित छन्।

डायलाइसिस गर्न आएका बिरामी कुरूवाद्वयले डायलाइसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेको खुलेको छ।

मध्यराति चिकित्सक कुटिएपछि आइतबार बिहानैदेखि अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।

सरकारले सुरक्षित कार्यस्थलको ग्यारेन्टी गर्ने भनेपछि शनिबार ६ बुँदे सहमति गरेर चिकित्सकहरू काममा फर्किएका थिए।

यसअघि पोखराको मणिपाल अस्पताल र मकवानपुरको हेटौंडास्थित सञ्चो अस्पतालका चिकित्सकहरू कुटिएपछि देशभरका चिकित्सकहरूले काम छाडेर आन्दोलन गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *