उसबेला डिजिटलभन्दा अगाडि नेपाली चलचित्र

नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रूपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ ।
डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्रविधिमा चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्र मात्र प्रदर्शन गरिन्थ्यो । किनकि प्रिन्ट तयार गर्न निर्माताको खर्च हुने भएकाले एकसाथ नेपालभर प्रदर्शन सम्भव थिएन । यो समयमा चलचित्रको चारदेखि पाँच प्रिन्ट तयार गरेपछि प्रदर्शन गरिन्थ्यो । एउटा चलचित्र भवनबाट अर्को चलचित्र भवनमा चलचित्र प्रदर्शन गर्न समय हेरफेर गर्नुपर्ने अवस्था थियो ।
प्रिन्टको सङ्ख्या बढाउँदा निर्माण लागत पनि बढ्ने भएकाले सीमित प्रिन्टबाट समय हेरफेर गरेर चलचित्र प्रदर्शन गरिन्थ्यो । मोफसलबाट पनि चलचित्र प्रदर्शन हुने भएकाले काठमाडौँ उपत्यकासम्म आइपुग्दा प्रिन्ट नै ड्यामेज हुने गरेको निर्देशक सुनिल पाण्डेले बताए ।
‘काठमाडौँमा पनि प्रदर्शनका लागि पालोमा बस्नुपर्ने हुन्थ्यो । उपत्यका बाहिर हुने प्रदर्शनमा प्रिन्टको क्वालिटी घट्ने गर्थ्याे’, निर्देशक पाण्डेले भने, ‘त्यस समयमा अनुभवका आधारमा काम गरिन्थ्यो । छायाङ्कन गरिएका कतिपय दृश्यसमेत निर्देशकले हेर्न पाउँथेनन् । छायाँकारकै आँखाबाट चलचित्र हेर्नुपर्थ्याे।’
निर्देशक ज्ञानेन्द्र देउजाले उक्त समयमा दर्शकका लागि अन्य विकल्प नभएकाले चलचित्र हेर्न हलसम्म जानेको भीड देखिने गरेको बताए । ‘अहिले जस्तो ओटिटी थिएनन् । दर्शकसँग यो वा त्यो भन्ने रोज्नका लागि विकल्प पनि थिएन । दर्शक चलचित्र हेर्न चलचित्र भवनसम्म आउने भएकाले जति आम्दानी भए पनि लगानी भने सुरक्षित हुन्थ्यो’, उनले भने ।
चलचित्रले सुरुवाती व्यापार नै अक्रामक रूपमा गर्ने गरेको थियो । उनका अनुसार लगानी नउठाउने चलचित्रको सङ्ख्या निकै न्यून थियो । ‘रक्षक’ चलचित्रमार्फत निर्देशनको सुरुआत गरेका निर्देशक देउजाले ‘गोर्खाली’, ‘दागबत्ती’, ‘शहीदगेट’, ‘मुनामदन’, ‘कुरुक्षेत्र’, ‘वरमाला’ लगायत चलचित्रमा निर्देशन गरेका छन् ।
उनले प्रेम कथा र जमिन्दारीका विषयमा अधिकांश चलचित्र बनाइएको बताए। अन्य विधा वा विषयवस्तुलाई पर्दामा ल्याउँदा जाँचपास रोकिने डर हुने भएकाले पनि प्रायः उस्तै विषयवस्तु समेटेर चलचित्र बन्ने गरेका निर्देशक देउजाको भनाइ थियो । ‘पचासको दशकमा फलानो कलाकार वा फलानो निर्देशक भन्ने थिएन, दर्शक कथावस्तु बुझ्न र मनोरञ्जनका लागि पनि चलचित्र हेर्ने आउँथे । उक्त समयमा प्रदर्शन भएका चलचित्रले ५१, ७५ र एक सय दिन मनाउने गर्थ्याे’, उनले भने ।
सो समयमा नेपाली चलचित्रको आकर्षण ग्रामीण भेगमा बढिरहेको निर्माता एवं निर्देशक अशोक शर्माले बताए । उनले चलचित्र भवन भ्रमण गर्दा दर्शकमा चलचित्रप्रतिको मायालाई अनुभव गरिएको चर्चा गरे । निर्माता शर्माले निर्माण गरेको  ‘ट्रक ड्राइभर’ विसं २०५० चैतमा प्रदर्शन गरिएको थियो । ‘म कलाकारसहित उर्लाबारीस्थित सूर्य टाकिजमा पुगेको थिएँ । पाँच सय सिट रहेको चलचित्र भवनमा एक हजार पाँच सयभन्दा बढी दर्शक थिए । गर्मीको महिना भएकाले बेलाबखतमा दर्शक बेहोस पनि हुने गर्थे । बेहोस भएर हल बाहिर ल्याइएका दर्शक होसमा आउनासाथ पुनःचलचित्र हेर्नभित्र पस्ने गर्दथे’, उनले अनुभव सुनाए ।
उक्त समयमा चलचित्र हेर्ने प्रचलन थियो । कलाकार विशेषको स्टारडमसँगै ‘नेपाली चलचित्र’ हेर्ने युगका रूपमा उक्त समयलाई बुझिन्छ । त्यही कारण नै न्यून चलचित्रले मात्र घाटा व्यहोर्नुपथ्र्यो । अहिले समय बदिलिएको छ । अहिले नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेका छन् । विदेशमा प्रदर्शन अनुमतिका लागि समयमा नै जाँचपास हुने हो भने विश्वभर जहाँ पनि एकसाथ नेपाली चलचित्र प्रदर्शन गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *