संसद होइन, सांसदकै क्षमता कमजोर छ : चित्रबहादुर केसी
२०५२ मा राष्ट्रिय जनमोर्चा गठन भएपछि निरन्तर अध्यक्ष रहेका चित्रबहादुर केसी अहिले पनि प्रतिनिधिसभाको सांसद छन्।
केसीले सदन होस् वा संसदीय समितिमा बोल्ने दिन सांसदहरूका लागि विशेष प्रतिक्षाको घडी बन्छ र सञ्चारकर्मी पनि उनलाई पर्खेर बस्ने गर्छन्। ठेट नेपाली भाषामा उखान टुक्कासहितको उनको वाक्कला पछिसम्म चर्चामा रहन्छ। तर सांसदको अहिलेको भूमिका र कायैशैलीबारे उनी पटक्कै सन्तुष्ट छैनन्।
‘चुनाव जितेर आएको एक वर्ष भयो, एउटा पनि ऐन निर्माण गर्न सकिएन। मतदातासमक्ष कसरी मुख देखाउने भन्ने अहिले ठूलो प्रश्न छ’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी भन्छन्, ‘यसमा संसद्को क्षमता नभएको होइन, सांसदकै कमजोर प्रवृत्ति छ।’
सांसदको मुख्य जिम्मेवारी नीति र विधि निर्माण अर्थात् नियम-कानून बनाउने तथा बनेका कानूनलाई समयानुकूल तुल्याउन संशोधन र परिमार्जन गर्ने रहेको उनले बताए। केसीले सरकार निर्माण, बजेट बाँडफाँट, छलफल र अनुमोदन मुख्य कार्यभार भए पनि मतदातामा सांसद भनेको विकास निर्माणको पनि मुख्य जिम्मेवारीमा बसेका प्राणी हुन् भन्ने जबर्जस्त बुझाइ रहेको प्रतिक्रिया दिए।
संसदमा विधेयक, नियमावली, ऐन, कानून र नियमका काममा व्यस्त रहनुभन्दा विकास चाहियो भनी मन्त्रालय, मन्त्री र कर्मचारीका कोठाचोटा चहार्ने प्रवृत्ति गलत रहेको बताउँदै केसी निर्वाचनमा उम्मेदवार मत माग्न जाँदा तिनसँग धारा, बाटो, विद्यालय, कुलो र तटबन्धको माग गर्ने मतदाताको स्तरले पनि मुख्य जिम्मेवारी र कर्तव्यलाई ओझेलमा पारेको धारणा राख्छन्।
बारीमा गएको पहिरो रोक्न आवश्यक जाली लिन वडा, पालिका र प्रदेशलाई छाडेर केन्द्रीय सांसदसँग माग गर्ने प्रवृत्ति कायम नै रहेको उनी बताउँछन्। ‘एक मतदाताले बारीमा गएको पहिरो रोक्न जाली पठाइदिनुपर्यो भनी मसँगै माग गरेको अवस्था छ’, उनले भने, ‘कार्यक्षेत्र र जिम्मेवारीबारे बुझाउन नसक्नु हाम्रो पनि कमजोरी छ।’
चुनावका बेला जे भने पनि दिन्छु भनेर प्रतिवद्धता गरेपछि उनीहरूले माग गर्नु स्वभाविक भएको उनको भनाइ छ। विधि र विधान बनाउनेको स्तर माथि उठेको भए मतदाताले पनि त्यही सिक्ने र बुझ्ने थिए भन्दै अध्यक्ष केसीले मत माग्ने बेलामा नसक्ने, नपुग्ने, नहुने आश्वासन बाँड्ने विषय ठीक नभएको बताए।
सांसद भनेको नीति निर्माण गर्ने हुन् भन्ने बुझ्न जरुरी रहेको बताउँदै उनले संसदीय विकास कोषमार्फत पाँच करोड बराबरको योजना छनोट र खर्च गराउने विषयले पनि चुनाव खर्चिलो तुल्याएको धारणा राखे।
राजनीतिक दलका नेता र सांसदले भनेको जस्तो विकास निर्माण अघि बढेको भए लाखौँ युवा जनशक्ति किन विदेश जानुपर्थ्यो भनी प्रश्न गर्दै सांसद केसी धेरै कुरा र थोरै काम गर्ने प्रवृत्ति सच्चिन आवश्यक रहेको तर्क गर्छन्।
‘सांसद र संसदमा कमजोरी छ, आफू परिवर्तन भएको मानिसले मात्रै परिवर्तन गर्न सक्छ, त्यो यहाँ देखिन्न। सांसदकै स्तर नउठेको हो। अनि देशमा विकास र परिवर्तनको के सम्भावना हुन्छ’, उनी भन्छन्।
‘निर्वाचन भएको नौ महिना र सदन सञ्चालन भएको सात महिनासम्म प्राथमिकता परेको एउटा पनि विधेयक पारित हुन नसक्दा यसभन्दा लज्जाजनक कुरा के हुनसक्छ, यो मतदातालाई गर्नै नहुने र सुनाउनै नमिल्ने कुरा हो’, अध्यक्ष केसीले भने।
विधि र थिति बनाउने प्रमुख भूमिकामा रहेका सांसद सरकार बनाउने, गिराउने र आफ्ना स्वार्थमा केन्द्रित हुने कुराले प्राथमिकताका विषय नै ओझेलमा पर्ने गरेको बताउँदै नेता केसीले १५ दिनभित्र बनाइसक्नुपर्ने संसदीय समितिका नियमावली पनि सात महिनासम्म पूरा नभएको घटनाले त्यसलाई पुष्टि गरेको जनाए।
अहिले जिम्मेवारी र काम, कर्तव्यभन्दा प्रधान विषय सत्ता हुन गएको विचार राख्दै उनले नेपालजस्तो पिछडिएको समाजमा राष्ट्र र जनताको स्वार्थ केन्द्रमा राखेर राजनीतिक दलले राजनीति गर्ने भए देशमा यस्तो अवस्था नआउने बताए। ‘जसरी पनि सत्तामा जानुपर्छ, रजाइँ गर्न पाउनुपर्छ भन्नेबाहेक अन्य चिन्ता नभएपछि सिद्धान्त र पद्धतिले काम गरेन, विशुद्ध सत्ता र शक्तिका लागि मात्र छिनाझपटी भयो।’
‘संविधान जारी भएको आठ वर्षसम्म एउटा प्रदेशको न्वारन हुन सक्दैन, भएपछि त्यसका विरुद्ध झगडा हुन्छ, महिनैपिच्छे सरकार गठन हुन्छ, विघटन हुन्छ। मेरो पार्टीले प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ, प्रदेशको लफडामा नलागौँ त्यसै भनेको होइन। सत्ताका लागि सभामुखले नै भोट हाल्ने कार्य भएको छ, समृद्धि प्राप्त भइहाल्छ भन्ने लक्षण देखिँदैन’, उनी भन्छन्।
ठूलो संघर्ष गरेर ल्याएको लोकतन्त्र र गणतन्त्रप्रति जनतामा यति छिटो र ठूलो निराशाको स्थिति सिर्जना गराउनमा प्रमुख राजनीतिक शक्ति नै दोषी रहेको केसीको आरोप छ। नेताहरूको चरित्र, क्रियाकलाप र बानी-व्यहोराका कारणले जनताले विकल्प खोजेको उनको बुझाइ छ।
संसद् हाँक्ने नेतृत्व पनि परिपक्व हुनुपर्ने केसी बताउँछन्। ‘संसदमा कसैले गलत कुरा प्रवेश गराएमा सैद्धान्तिक र कानुनी रूपमा प्रतिवाद गर्न सक्नुपर्छ’, उनी भन्छन्’, ‘सदन चलाउन विशेष योग्यता, क्षमता र खुबी आवश्यक पर्छ।’
सदनको पनि आफ्नो मर्यादा र पद्धति हुने भएकाले आफ्ना कुरा मर्यादित रूपमा प्रवेश गराउन सकिने बताउँदै उनी बढी उच्छृङ्खल हुने र सञ्चालकले गर्ने ‘कमान्ड’ मा निर्भर हुने विचार प्रकट गर्छन्।
प्रतिक्रिया