सुन तस्करी जाँचबुझ गर्ने आयोगको कार्यादेशमा एमालेको असहमति
सुन तस्करीबारे छानबिन गर्न गठन गर्ने भनिएको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे छलफल गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ ।
६ भदौमा राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच ५ असोजबाट काम सुरू गर्ने गरी आयोग गठन गर्ने सहमति भए पनि आज बसेको बैठकमा सहमति नजुटेको नेकपा (एमाले) सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘सरकार जिम्मेवार भएको हुन्थ्यो भने यति ठूला नेताहरूको बीचमा, पूर्वप्रधानमन्त्रीको तहमा भएको सहमतिमा पनि यस प्रकारको कामले के देखाउँछ भने सरकार कतिको जिम्मेवार छ, वचनमा पक्क छ भन्ने यो घट्नाले देखाउँछ,’ उनले भने, ‘सरकार जिम्मेवारीबोधका साथ अगाडि बढ्न र भएका सहमतिलाई कार्यान्वयन गर्न जिम्मेवार छैन, तयार छैन। आजको घटना टार्न सम्झौता गर्ने र सम्झौताबाट पछि हट्ने सरकारको चरित्र हो।’
आजसम्म आयोग बनाउने सहमति भए पनि सरकारले त्यसमा कुनै पनि काम नगरेको भन्दै सचेतक बर्तौलाले सरकार जिम्मवार नभएको आरोप लगाए। बैठकपछि एमाले सचेतक बर्तौलाले सरकार पूर्वसहमतिबाट पछि हट्न खोजेको आरोप लगाए।
प्रतिक्रिया