बालसुधार गृहमा भएको मृत्युको सत्यतथ्य अनुसन्धान गर्न एड्भोकेसी फोरम-नेपालकाे आग्रह

विगत केही समयदेखि देशका तीनवटा बालसुधार गृहहरूमा भएको बालकहरूको मृत्यु तथा सुधार गृह तोडफोडको घटनाप्रति एड्भोकेसी फोरम-नेपालले चिन्ता व्यक्त गरेकाे छ। भक्तपुर, पर्सा र बाँकेका बालसुधार गृहहरूमा भएको दुःखद् घटनाले देशभरिका सुधार गृहहरूको अवस्था सामान्य नरहेको र त्यसलाई समाधानका लागि तत्काल कदम चाल्न जरूरी रहेको ठहर ठहर फाेरमले गरेकाे छ।

भक्तपुर बालसुधार गृहमा भदौ ३ गते १८ वर्षीय बालकको समयमै उपचार नपाउँदा मृत्यु भएपछि बालकहरू तोडफोडमा उत्रिँदा परिस्थिति नियन्त्रणभन्दा बाहिर गएको थियाे। त्यसपश्चात् १४ जना बालकलाई वीरगञ्ज, १४ जनालाई हेटौैंडा, १३ जनालाई भैरहवा र ६ जनालाई डोटीको बाल सुधारगृहमा सारिएको थियो।

यस्तै भदौ २६ गते वीरगञ्ज बालसुधार गृहमा ढुंगामुढा र तोडफोड भएको थियो । घटनामा संलग्न १५ बालकलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्सा हिरासतको महिला सेलमा राखिएको छ। त्यस्तै बाँकेस्थित बालसुधार गृहमा बिहीबार राति दुई पक्षबीच भएको झडपमा एक बालकको मृत्यु र ११ जना बालकहरू घाइते भएका छन्।

एड्भोकेसी फोरम-नेपालले विगत लामो समयदेखि बालसुधार गृहहरूको अवलोकन भ्रमण गर्दा क्षमताभन्दा बढी बालबालिका राखिएको र दैनिक रूपमा दिइने खाजा, खाना र पानी गुणस्तरीय एवं पोषणयुक्त नरहेको, शिक्षा तथा स्वास्थ्य उपचार र सीपमूलक तालिमको अभाव रहेको औंल्याएको थियो। १८ वर्षभन्दा बढी उमेर पुगेकालाई समेत नाबालकहरूसँगै राखिँदा पनि समस्या उब्जेको उसकाे निष्कर्ष रहेको निर्देशक विकास बस्नेतले बताए।

बालसुधार गृहहरूमा देखिएका समस्यालाई तत्काल सम्बोधन गरी समाधानका लागि एड्भोकेसी फोरम-नेपालले सरकार तथा अन्य सम्बद्ध निकायहरूलाई आग्रह गरेकाे छ।

उसले त्यसका लागि सुधार गृहहरूमा भएका घटनाहरूको यथाशीघ्र सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न, बाल न्यायसम्बन्धी कानून तथा संयन्त्रहरूको प्रभावकारी र व्यावहारिक रूपमा कार्यान्वयन गर्न, उचित भौतिक पूर्वाधार निर्माण गर्न भनेकाे छ।

यस्तै पर्याप्त पोषणयुक्त खाजा तथा खानाको प्रबन्ध गर्न, शिक्षा तथा सीप विकास तालिमको व्यवस्था गर्न, उमेर वर्गीकरण गरी बालबालिकालाई छुट्टाछुट्टै सुधारगृहमा राख्न, बालसुधार गृहहरूमा भएका समस्याहरूको पहिचान गरी यथाशीघ्र निराकरण गर्न फाेरमले आग्रह गरेकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर