बीपीले सामाजिक न्याय, समानता र व्यावहारिक शिक्षामा जोड दिनुभएको थियो : केदारभक्त माथेमा

बीपी कोइरालाको ११० औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य सम्मेलनको स्थगित तेस्रो दिनको कार्यक्रम बुधबार शुरू भएको छ।

नेपाली कांग्रेसको मुख्यालय बीपी स्मृति भवनमा बुधबारको कार्यक्रमको प्रारम्भमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा जापानका लागि पूर्व नेपाली राजदूत डा. केदारभक्त माथेमाले ‘बीपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा करिब एक घण्टा लामो सम्भाषण प्रस्तुत गरे।

सो अवसरमा बोल्दै शिक्षाविद् डा. माथेमाले नेपाली साहित्यका एक नक्षत्र बीपीको क्षमता, कला, संस्कृति, राजनीति, साहित्य र समाजको क्षेत्रमा अतुलनीय योगदान भएको जनाउँदै पूर्व अमेरिकी राष्ट्रपति टमक जेफर्सनसँग बीपीको तुलना गरे।

‘बीपीले परिकल्पना गरेको शिक्षा भनेको समानता, सामाजिक न्याय, सार्वजनिक, सहज, समान अवसर र व्यावहारिकतामा आधारित थियो। शिक्षालाई विद्यार्थीले एउटा शैक्षिक तह उत्तीर्ण गर्ने माध्यम, अभिभावकले रोजगार प्राप्त गर्ने साधन, समाजले बौद्धिक र समाजअनूकुलको माध्यमको रूपमा लिने गर्छ। तर, एउटा राजनेताले शिक्षालाई समाज बदल्ने साधनको रूपमा लिन्छ। बीपी त्यही राजनेता हुनुहुन्थ्यो’, डा. माथेमाले भने।

उनले शिक्षा समान कहिल्यै हुँदैन, यसमा राजनीति हुन्छ तर राजनीतिकको हस्तक्षेपबाट र शिक्षाको ब्यापारिकरणबाट शिक्षालाई अलग गर्न सक्नु पर्ने बताए। नेपालसहित दक्षिण एसियाली मुलुकमा शिक्षामा अधिक व्यापारीकरण हुने गरेको भन्दै डा. माथेमाले नेपालका सन्तानलाई शिक्षाको लागि अभिभावकहरूले जीवनभर कमाएको आम्दानीको ५० प्रतिशतसम्म खर्च गर्ने गरेको बताए।

उनले भने, ‘शिक्षामा अधिक लगानी गर्नुपर्दा स्रोत जुटाउनकै लागि नेपालमा भ्रष्टाचार हुने एउटा कारण हो। बीपीले सिर्जनशिलता र नवीन शिक्षाको एवम् सबैका लागि शिक्षा, हस्तक्षेपरहित र स्वतन्त्र शिक्षा संस्थाको कल्पना गर्नुभएको थियो।’

हाल नेपालका विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप बढ्दो छ। उपकुलपति र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भागबण्डा र राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र भताभुंग भएको जनाउँदै डा. माथेमाले परीक्षा दिएर उत्तीर्ण हुने र जागिर खानका लागि मात्र शिक्षा प्रदान गर्ने प्रणालीमा सुधारको खाँचो औंल्याए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *