चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमित २२ टहरा हटायो

चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमण गरी बनाइएका २२ टहरा भत्काएको छ । माडी नगरपालिका-९ स्थित कुसुमखोलामा नेपाली सेना र निकुञ्जका कर्मचारीले हात्ती समेतको प्रयोग गरी टहरा भत्काएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार हात्तीसहित पुगेका सेना र निकुञ्जका कर्मचारीले ती टहरा भत्काएका हुन् । पहिलेदेखि नै सोही ठाउँमा रहेका काजीमान प्रजाको एउटा घरटहरा भने निकुञ्जले भत्काएको छैन ।

मध्यवर्ती क्षेत्रको जङ्गल अतिक्रमण गरेर विभिन्न ठाउँबाट आएका व्यक्ति बसोबास गर्ने क्रम बढ्दै गएको र उनीहरूलाई घरटहरा नबनाउन पटकपटक आग्रह गर्दासमेत नरोकिएपछि बाध्य भएर भत्काउनु परेको तिवारीले बताए । टहरा निर्माण गरी वरपरको क्षेत्रमा खेतीपातीसमेत गर्न थालेको उनकाे भनाइ छ ।

विगतका वर्षहरूमा पनि टहरा बनाउने कार्य भएपछि निकुञ्जले पटक-पटक भत्काउँदै आएको थियो । कुसुमखोलामा चितवन र मकवानपुरका विभिन्न स्थानबाट आएका चेपाङ परिवारहरूले टहरा बनाएको तिवारीले जानकारी दिए । अन्यत्र घर भएकाहरूले समेत टहरा बनाएको उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *