६० किलो सुन प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता

६० किलो सुन प्रकरणमा २९ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५० जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो। तर, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनालाई मात्र प्रतिवादी कायम गरेर आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

प्रहरी हिरासतमा रहेका २६ र फरार ३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो।

कलैया उपमहानगर-१ बस्ने भोला साह सोनार, बर्दिया घर भई काठमाडौं चुनदेवी बस्ने जीवन चलाउने र रोल्पा घर भई ठमेलमा भियना होटल सञ्चालन गर्दै आएकी अमला रोका फरार छन्।

यो प्रकरणमा ३२ जना पक्राउ परेकामा ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो।

सबै आरोपितहरूविरूद्ध सुन तस्करी गरेकामा ३ अर्ब ५० करोड २ लाख रूपैयाँ, ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रूपैयाँ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रूपैयाँ कायम गरिएको अभियोगपत्रमा उल्लेख छ।

प्रहरीले आरोपितमाथि बरामद भएको बाहेक अरू सुन पनि तस्करी गरेको आरोप लगाएको छ। आरोपपत्रअनुसार उनीहरूले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन्।

प्रतिवादीहरूलाई अवैध सुन चोरीपैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐनअन्तर्गतको कसुरका साथै एकसाथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय मागदाबी गरिएको छ।

एकीकृत कसुर पुष्टि भएमा सबैभन्दा बढी सजाय हुने कसुरमा थप आधा सजाय समेत जोडिन्छ।

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

गत साउन ३ गते हङकङबाट मोटरसाइकल र स्कुटकरको ब्रेक शुमा भित्र्याइएको ६० किलो ७१६ ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको थियो। राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको थियो।

प्रारम्भिक अनुसन्धान विभागले नै गरेकामा बीचमा विभागले बाँकी अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *