कमल थापाले दाबीका साथ भने- आधा दर्जन नेताले अरबौं रकम विदेशी बैंकमा राखेका छन्

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने अनि शान्तिसुरक्षा दिनुपर्ने राज्य र सरकार स्वयं भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा राप्रपा नेपालले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

करिब आधा दर्जन नेताले अरबौं रूपैयाँ विदेशी बैंकमा लुकाएर राखेको भन्दै उनले सरकार स्वयं भ्रष्टाचारमा संलग्न भएको बताए।

उनले भने, ‘केही सीमित दलका सीमित नेताहरू रातारात करोडपति, अरबपति भएका छन्। म दाबीका साथ भन्न सक्छु, प्रमाणका साथ भन्न सक्छु, करिब आधा दर्जन नेताले अरबौं रूपैयाँ स्विट्जरल्याण्ड, दुबई र सिंगापुरका बैंकमा लगेर राखेका छन्। यो भ्रष्टाचार स्वयं सरकारले गरिरहेको छ। सरकार स्वयं भ्रष्टाचार गर्छ ।’

उनले सबै नेपाली जनतालाई पार्टीभन्दा माथि उठेर देशका लागि तेस्रो जनआन्दोलनमा सहभागी हुन आग्रहसमेत गरेका छन्।

कुनै पार्टीको भन्दा पनि देशको स्वाभिमानी नेपाली भएर सुशासनको जगमा समृद्ध नेपाल बनाउन चाहने सबै नेपालीलाई तेस्रो जनआन्दोलनमा सहभागी हुन उनले आग्रह गरे।

संवैधानिक राजतन्त्रको पुनर्स्थापना, हिन्दूराष्ट्रको माग र संघीयताको खारेजी तथा भ्रष्टाचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको हो।

प्रदर्शन भद्रकालीबाट सुरू भई भृकुटीमण्डप पुगेर विरोधसभामा परिणत भएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *