लिबियाको बाढीमा २० हजारको मृत्यु भएको अनुमान

बाढीकाे चपेटमा परेका लिबियाको डेर्ना सहरका बासिन्दाहरूले उद्धारकर्मीसँगै आफ्ना बेपत्ता आफन्तहरूको खोजी गरिरहेका छन् । उद्धारकर्मीहरूले थप सहयोगको अपिलसमेत गरिरहेका छन् । विनाशकारी बाढीले हजारौं मानिसहरूको ज्यान लिनुका साथै धेरैलाई बगाएर समुद्रमा पुर्‍याएको छ ।

भूमध्यसागरीय सहरमाथि रहेको ड्याम विस्फोट भएपछि आएको आँधीले सहर नष्ट भएको हो । सहरभित्र सुतिरहेका मानिसहरू सहित बहुतले भवनहरू ध्वस्त भएका छन् । लिबियाका आन्तरिक मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट तारेक अल-खरराजले बुधबार एएफपी समाचार एजेन्सीलाई दिएको जानकारीअनुसार भूमध्यसागरीय सहरमा अहिलेसम्म ३ हजार ८४० जनाको मृत्यु भइसकेको छ । जसमा ३ हजार १९० जना पुरिएका छन् । तिनीहरूमध्ये कम्तिमा ४०० विदेशीहरू थिए । उनीहरू प्रायः सुडान र इजिप्टका नागरिक थिए ।

यसैबीच पूर्वी लिबियाको प्रशासन हेर्ने नागरिक उड्डयनमन्त्री हिचेम अबु चकियोतले रोयटर्स समाचार एजेन्सीलाई दिएको जानकारीअनुसार अहिलेसम्म ५ हजार ३०० भन्दा बढी मृतकको गणना भइसकेको छ । र, यो संख्या उल्लेखनीय रूपमा बढ्ने र दोब्बर हुन सक्ने उनले बताएका छन् ।

डेर्नाका मेयर अब्दुलमेनम अल-घैथीले साउदीको स्वामित्वमा रहेको अल अरेबिया टेलिभिजनलाई बताएअनुसार बाढीले क्षतिग्रस्त जिल्लाहरूको संख्याको आधारमा सहरमा मृत्यु हुनेको संख्या १८ हजार देखि २० हजारसम्म पुग्न सक्नेछ ।

अधिकारीहरूले बेपत्ताको संख्या १० हजार रहेको बताएका छन् भने संयुक्त राष्ट्रसंघको सहायता एजेन्सी ओसीएचएले यो संख्या कम्तिमा ५ हजार भएको बताएको छ । समुद्री किनारमा कपडा, खेलौना, फर्निचर, जुत्ता र अन्य चीजहरू छरपष्ट छन् । सडकहरू माटोले ढाकिएका छन् र उखेलिएका रूखहरू र सयौं कारहरूले छरिएका छन् ।

इजिप्ट, ट्युनिसिया, संयुक्त अरब इमिरेट्स, टर्की र कतारबाट उद्धार टोली आइपुगेको डेर्नाका मेयर अल-घैथीले बताएका छन् । ‘हामीलाई शव निकाल्न विशेषज्ञ टोली चाहिन्छ,’ उनले भने, ‘मलाई डर छ कि भग्नावशेष मुनि र पानीमा ठूलो संख्यामा शवहरू भएकाले सहरमा महामारीको संक्रमण हुनेछ ।’

सन् २०११ मा मुअम्मर गद्दाफीलाई पराजित गर्ने नाटो समर्थित विद्रोहपछि बलियो केन्द्रीय सरकार नहुँदा यहाँको उद्धार कार्य जटिल भएको छ । राष्ट्रिय एकताको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार (जीएनयू) पश्चिममा त्रिपोलीमा अवस्थित छ, जबकि पूर्वमा डेर्नासहित समानान्तर प्रशासन सञ्चालनमा छ ।

पूर्वी लिबियाका स्थानीय अधिकारीहरूले आलोचना गर्दै भनेका छन् पानीको बेग सहरमा बग्नु अघि स्थानीयहरूलाई सुरक्षित स्थानमा जान सूचित गरिएको थिएन । यद्यपि, अल-गैथीले बुधबार बाढी पहिल्यै बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान सूचित गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *