जी-२० शिखर सम्मेलन

भारतीय प्रधानमन्त्री मोदीले १५ विश्व नेतासँग गर्दै छन् द्विपक्षीय वार्ता

शनिवार र आइतवार भारतको राजधानी नयाँदिल्लीमा हुने विश्व अर्थतन्त्रका २० ठूला राष्ट्रको अन्तरसरकारी संगठन जी-२० को शिखर सम्मेलनको तयारी पूरा भएको छ। भारतले सम्मेलनमा सहभागी हुने नेताहरूको बसोवास, सुरक्षासहित सबै तयारी पूरा गरिसकेको छ।

सम्मेलनमा सहभागी हुन जी-२० सदस्य राष्ट्रका पाहुनाहरू दिल्ली पुग्ने क्रम जारी छ। इटलीकी प्रधानमन्त्री जर्जियो मेलोनीपछि बेलायतका प्रधानमन्त्री ऋषि सुनक पत्नी अक्षता मूर्तिसहित नयाँदिल्ली पुगेका छन्।

उनलाई केन्द्रीय राज्यमन्त्री अश्विनी चौबेले स्वागत गरेका थिए। प्रधानमन्त्री बनेपछि सुनकको यो पहिलो भारत भ्रमण हो।

जापानका प्रधानमन्त्री फुमियो किशिदा पनि पत्नीसहित दिल्ली पुगिसकेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनसहितका अन्य नेता शुक्रवार साँझसम्म दिल्ली पुग्ने छन्।

जी-२० शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ जना विश्व नेताहरूसँग द्विपक्षीय वार्ता गर्ने छन्। उनले शुक्रवार साँझ आफ्नो निवासमा तीन देशका नेतासँग यस्तो वार्ता गर्दै छन्।

पहिलो दिन अमेरिकी राष्ट्रपति जो बाइडेन, मरिससका प्रधानमन्त्री प्रविन्द कुमार जगन्नाथ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग मोदीले वार्ता गर्ने तय भएको हो। यी वार्ताको उद्देश्य द्विपक्षीय सम्बन्धको समीक्षा र विकासका लागि एकअर्काको सहयोगलाई सुदृढ गर्नु हो।

जी-२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी हुने छैनन्। उनीहरूका स्थानमा मन्त्रीहरूले प्रतिनिधित्व गर्नेछन्।

सीको स्थानमा प्रधानमन्त्री ली छ्याङ र पुटिनको स्थानमा विदेशमन्त्री सर्गेई लाभरोभले प्रतिनिधित्व गर्नेछन्।

सी र पुटिन सम्मेलनमा अनुपस्थित भए पनि यसले सम्मेलनलाई असर नगर्ने एक पश्चिममा कूटनीतिज्ञले बताए।

भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले पुटिन रसीको जी-२० शिखर सम्मेलनमा हुने अनुपस्थितिले कुनै फरक नपर्ने बताएका हुन्।

एएनआईसँगको अन्तर्वार्तामा राजदूत एकरम्यानले राष्ट्रपति पुटिन अघिल्लो शिखर सम्मेलनमा सहभागी नभएकाले यसपटकको उनको अनुपस्थितिलाई अचम्म मान्नुपर्ने केही कारण नभएको बताए।

‘चिनियाँ राष्ट्रपति सीको अनुपस्थितिले भने हामी अलिकति विस्मित भयौं। तर, उनको प्रतिनिधित्व चिनियाँ प्रधानमन्त्रीले गर्ने भएपछि यसले खासै फरक पार्दैन,’ चिनियाँ धारणा प्रधानमन्त्रीबाट प्रस्तुत हुने उल्लेख गर्दै उनले भने।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *