भारतको सूर्य मिशन ‘आदित्य-एल१’ ले लियो सेल्फी, खिच्यो पृथ्वी र चन्द्रमाको तस्बिर

भारतको सूर्य मिशन ‘आदित्य-एल१’ ले सूर्यको यात्राका दौरान आफ्नो सेल्फी लिएको छ। साथै उसले पृथ्वी र यसको उपग्रह चन्द्रमाको तस्बिर पनि खिचेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ।

इसरोले आफ्नो ट्विटर अकाउन्टबाट एक ट्वीटमा लेखेको छ, ‘सूर्य-पृथ्वीबीचको एल१ बिन्दुका लागि पठाइएको आदित्य-एल१ ले सेल्फी लिएको छ।’

इसरोले भिडियोसमेत जारी गर्दै १८ भदाैमा आदित्य-एल१ ले सेल्फी खिचेको र सो सेल्फीमा भिजिबल लाइन इमिशन कोरोनाग्राफ (भीईएलसी) र सोलार अल्ट्राभायोलेट इमेजिङ टेलिस्कोप (एसयूआईटी) यन्त्रहरू देखिएको बताएको छ।

सोही दिन यो मिशनले पृथ्वी र चन्द्रमाको तस्बिर पनि खिचेको इसरोले बताएको छ। तस्बिरमा पृथ्वी ठूलो र चन्द्रमा बिन्दु आकारको देखिन्छ।

आदित्य-एल१ ले १६ भदाैमा यसको प्रक्षेपणपछि दुई पटक पृथ्वीको कक्ष परिवर्तन गरिसकेको छ। हालै इसरोले आदित्य-एल१ सूर्यको एल१ बिन्दुतर्फ अघि बढिरहेको जानकारी दिएको थियो। यसले आगामी १ असोजसम्म पृथ्वीको चारै दिशामा चार पटक कक्ष परिवर्तन गर्नेछ।

चन्द्रमामा सफलता प्राप्त भएपछि भारत सूर्यतर्फ अघि बढेको हो। ६ भदौमा चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएर इतिहास बनाएपछि भारतले सूर्यको अध्ययनका लागि आदित्य-एल१ मिशन पठाएको हो।

भारत चन्द्रमामा सफलतापूर्वक यान अवतरण गराउने विश्वको चौथो तथा चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने पहिलो मुलुक बनेको छ।

आदित्य-एल१ विश्वमा सूर्यको अध्ययन गर्ने पहिलो मिशन भने होइन। यसअघि नासा र युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले पनि यही उद्देश्यका लागि मिशन पठाइसकेका छन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *