प्रचण्डले जनयुद्धपीडितसँग घर-घर पुगेर माफी नमागेसम्म माओवादी प्रवेश गर्दिनँ : वामदेव गौतम

'एमालेले ७० वर्षे उमेर हद हटाएको छैन'

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका पीडितसँग माफी माग्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डले जनयुद्धपीडितका घर-घरमा पुगेर माफी नमागेसम्म आफूले माओवादी प्रवेश सोच्नसम्म पनि नसक्ने बताए।

तर, एमाले र एकीकृत समाजवादीमा समाहित हुन आफू तयार रहेको उनको भनाइ छ।

उनले भने, ‘हामी नेपालको सबै कम्युनिष्टहरूबीच एकता गर्न चाहन्छौं, त्यो भनेको एमालेलाई छोडेर होइन। म नेकपा (एमाले) मा, एकीकृत समाजवादीमा जान सक्छु। म माओवादी केन्द्रमा जान सक्दिनँ। किनभने जनयुद्धकालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए।’

उनले प्रचण्डले राजनीतिक व्यक्तिको हत्या गल्ती थियो भनेर स्वीकार गरे सोच्न सकिने टिप्पणी गरे।

‘राजनीतिक व्यक्तिहरूको हत्या गरियो, त्यसलाई मार्क्सवाद भन्छन्, भन्दैनन्। कमरेड प्रचण्डले घर-घरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिनँ।’

उनले एमालेले ७० वर्ष उमेर हद हटायो भन्ने कुरा साँचो नभएको भन्दै उमेर हद भनेको संविधानको धारा २४ को विरूद्धमा भएको टिप्पणी गरे ।

उनले भने, ‘संयुक्त रूपमा एउटै पार्टी बनाउने हो भने हामी जान सक्छौं। नेकपा (एमाले) ले ७० वर्ष उमेर हद हटायो भनियो तर त्यो हटाएको छैन। उमेर हद भनेको यो संविधानको धारा २४ को विरूद्धमा छ। त्यो व्यवस्था उँच, नीच, छुवाछुत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ। उमेर हद नेपालको संविधानविरोधी छ, त्यो हट्नैपर्छ।’

उनले समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरूमा पुँजीवादभन्दा अरू केही नरहेको जिकिर गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *