नेपालबाट १० हजार मेगावाट बिद्युत खरिद गर्ने भारत सरकारकाे निर्णय
भारत सरकारको केन्द्रीय मन्त्रिपरिषद् बैठकले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् दीर्घकालीन रुपमा खरिद गर्ने प्रस्ताव पारित गरेको छ। यस अन्तर्गत विभिन्न भारतीय कम्पनीको लगानीमा रहेको जलविद्युत् आयोजना तथा नेपालका निजी तथा सार्वजनिक क्षेत्रले निर्माण गरेका आयोजनाहरु समावेश हुने छन्।
नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी अन्तरसरकारी सम्झौतापत्रको मस्यौदा भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको भारत भ्रमणका क्रममा गत १८ जेठमा दुई देशबीच दीर्घकालीन विद्युत् व्यापारको समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । तीन महिनापछि भारतको मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृत गरेसँगै दुई देशबीच सम्झौतापत्रमै हस्ताक्षर हुने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे आैपचारिक भारत भ्रमणकाक्रममा यस विषयमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र माेदीसँग सहमति भएकाे थियाे । यसलाई नै भारतकाे केन्द्रीय मन्त्रिपरिषद् बैठकले मूर्तता दिएकाे हाे ।
नेपाल र भारतबीचकाे बिद्युत सम्झाैताका लागि पछिल्लाे समय दुई देशका सम्बन्धित मन्त्रालयका सचिव र सरकारी अधिकारीबीच विभिन्न चरणमा सहमति भइसकेका छन्।
सम्झौतापत्रमा हस्ताक्षर भएपछि नेपाल विद्युत् प्राधिकरणले भारतीय विद्युत् व्यापार कम्पनीसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गर्न सक्नेछ । भारतीय नीतिअनुसार न्यूनतम सात वर्षको अवधि राखेर प्राधिकरणले भारतीय कम्पनीसँग पिपिए सम्झौता गर्न सक्नेछ । यसअन्तर्गत रहेर भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् किन्नेछ ।
प्रतिक्रिया